• ७ मंसिर २०८१, शुक्रबार

रामपुर महोत्सव माघ १५ देखि गर्ने तयारी

blog

महोत्सवबारेमा जानकारी गराउनु हुँदै अध्यक्ष ढकाल । तस्विरः इमानसिं राना

इमानसिं राना

रामपुर (पाल्पा), कात्तिक २९ गते । आगामी माघ १५ गतेदेखि जिल्लाको रामपुरमा चौंथो रामपुर महोत्सव, कृषि प्रदर्शनी एवं व्यापार मेला हुने भएको छ । रामपुर उद्योग वाणिज्य संघले चौथो संस्करणको महोत्सव माघ १५ देखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । 

संघले घरेलु तथा कुटिर उद्योग र कृषि क्षेत्रको प्रवर्धन, स्थानीय उत्पादनको बजारीकरण, पर्यटकीय स्थलको प्रचार प्रसार, मौलिक कला संस्कृतिको पनि जगेर्ना र संघको निर्माणाधीन भवनलाई पूर्णता दिन महोत्सव गर्न लागिएको जनाएको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत महोत्सवको मिति सार्वजनिक गर्दै रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले १३ दिनसम्म सञ्चालन हुने यस पटकको महोत्सव रामपुर उपत्यकामा ठूला लगानी कसरी भित्र्याउन सकिन्छ भन्नेमा केन्द्रित रहने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘रामपुर भन्नेवित्तिकै धेरैले चितवनको रामपुरलाई मात्र चिन्थे । हामीले यसअघि भएका महोत्सवमार्फत पाल्पाको रामपुरलाई देशैभर चिनाउन सफल भयौं । यस पटक उद्योग व्यवसायलाई चलायमान गराउनु, स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्धनसँगै रामपुरमा ठूला लगानीकर्तालाई कसरी आकर्षित गर्ने भन्नेमा हामी केन्द्रित हुनेछौं ।’

अध्यक्ष ढकालले महोत्सवमा ठूला उद्यमीलाई उपस्थित गराएर याहाँको सम्भावनाबारे जानकारी गराउने तयारी भइरहेको बताउनुभयो । विगतमा सम्पन्न भएका मेला महोत्सवबाट सिकेको ज्ञान र सरोकारवालाकोे सुझाव एवं सल्लाहअनुसार मेलालाई थप व्यवस्थित गर्न साढे दुई महिना अगावै मिति तय गरेर तयारी अघि बढाइएको जानकारी दिनुभयो ।

संघका वरिष्ठ उपाध्यक्ष रुद्रनारायण श्रेष्ठले चौथो संस्करणसम्म आउँदा महोत्सवले रामपुर सँगै कालीगण्डकी उपत्यकालाई चिनाउन महत्वपूर्ण योगदान दिएको बताउनुभयो । विहीबार बसेको कार्यसमितिको बैठकले मेलाको मिति तय गरेको उहाँले बताउनुभयो । संघका महासचिव खिमबहादुर क्षेत्री पुरुषोत्तमले सल्लाहाकारको सुझाव अनुसार मिति तय गरिएको र मेलास्थलको विषयमा थप छलफल भइरहेको जानकारी दिनुभयो ।