• ८ मंसिर २०८१, शनिबार

अन्नपूर्ण पदमार्गमा चर्को आवाजमा सङ्गीत बजाउन बन्देज

blog

विभिन्न ठाउँमा राखिएको पासो तथा पदयात्रीबाट खोएिका स्पिकरहरु । तस्बिर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट
मनाङ, कात्तिक २९ गते ।
 चक्रीय अन्नपूर्ण पदमार्गमा घुम्न आउने पर्यटकहरूले अब आफ्नो पदयात्रा गर्ने क्रममा सावधानी अपनाउनुपर्ने भएको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा चर्को सङ्गीत बन्देज गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङले जनाएको छ । एक्यापले पदयात्रा गर्दा ठुलो आवाजमा कुनै उपकरण नबजाउन तथा कुनै किसिमको पटका तथा अतीसबाजी प्रदर्शन नगर्न पदयात्रीलाई अनुरोध गरेको छ । यदि यस्ता गतिविधि गरेमा कानुनअनुसार सजाय गरिने पनि एक्यापले जनाएको छ ।

संरक्षण क्षेत्रभित्र धेरै जङ्गली जनावर तथा पशुपन्छी रहेकाले उनीहरूको वातावरण कुनै पनि असर नपरोस् भनी चर्को रूपमा स्पिकरमा सङ्गीत बजाएर यात्रा गर्न नपाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । उहाँले वन्यजन्तुको पर्यावरणमा चर्को सङ्गीतले असर पारेको तथा उनीहरूको पर्यावरण खलबलिएकाले चर्को स्वरमा स्पिकर बजाउँदै पदयात्रा गरेकाहरूबाट स्पिकर नियन्त्रणमा लिई सचेत गराइएको बताउनुभयो ।

यसैबिच मनाङको संरक्षित क्षेत्रभित्रबाट नियमित वन गस्ती गर्ने क्रममा वनक्षेत्रमा ३५ थान पासो भेटिएको र भेटिएका सबै पासोहरू नष्ट गरिएको छ । एक्यापको सूचनामा वन्यजन्तुको चोरी सिकारी तथा अवैध ओसारपसार र किनबेच हुन नदिन सार्वजनिक रूपमा सूचना जारी गर्दा पनि सो क्रम नरोकिएकाले यस्ता वन गस्ती गरी अवैध रूपमा थापिएका पासोहरू नष्ट गरिएको हो । यस्ता कार्यमा संलग्न भएको पाइएमा १० लाखसम्म जरिवाना वा १५ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

त्यसैगरी एक्यापले पदयात्रामा आउने पदयात्रीलाई यात्रा गरी रमाइलो अनुभव लिन पनि आग्रह गरेको छ । यसै क्रममा एक्याप र मनाङ ङिस्याङ गाउँपालिकाको सहयोगमा पदमार्ग निर्माण गरिएको छ । मनाङ ङिस्याङ गाउँपालिका १ को तलेखुदेखि सब्जे–मुङ्जेसम्म संयुक्त प्रयासमा पदमार्ग निर्माण एवम् मर्मतसम्भार कार्य भएको छ । सो खण्डमा पर्यटकलाई सजिलो होस् भनी साइनबोर्डहरू पनि राखिएको छ ।