• ७ मंसिर २०८१, शुक्रबार

एचपिभी खोप अभियान माघमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले माघ महिनादेखि देशभरका किशोरीहरूलाई निःशुल्क पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउने भएको छ । मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तत्काल १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क एचपिभी भ्याक्सिन लगाउने निर्णय गर्नुभएको हो ।

 स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले देशव्यापी रूपमा पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क खोप अभियान सञ्चालन गर्ने बताउनुभयो । “हामीले धेरै महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाएको देखेका छौँ, किशोरावस्थामै खोप दिन सकिए धेरै ज्यान जोगाउन सकिन्छ भनेर अभियानकै रूपमा खोप थाल्ने निर्णय गरेका हौँ,” मन्त्री पौडेलले भन्नुभयो ।  

मन्त्री पौडेलले आगामी वर्षबाट नियमित खोप अभियानमा समेत पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप समावेश गराउने निर्णय गरिएको बताउनुभयो, जस अनुसार यसै वर्ष नियमित खोपमा समावेश हुन चाहने कक्षा ६ अध्ययनरत वा १० वर्षका बालिकाले समेत यो खोप लगाउन पाउने छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले आउँदो माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी निःशुल्क एचपिभी खोप अभियानको सुरुवात गर्ने जानकारी दिनुभयो । सचिव पोखरेलका अनुसार १५ दिन सञ्चालन हुने अभियानमा देशभरका किशोरीलाई खोप दिइने छ । उहाँले देशभरका ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार नौ सय किशोरी लाभान्वित हुने जानकारी दिनुभयो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले किशोरीहरूलाई सानै उमेरबाट क्यान्सरबाट जोगाउन यस्तो निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले आगामी वर्षबाट भने सबै किशोरीले नियमित रूपमा खोप लगाउन पाउने गरी व्यवस्था गरिएको बताउनुभयो । 

मन्त्री पौडेलले आफ्नो योजना तथा प्राथमिकतामा किशोरीहरूको पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने रहेको उल्लेख गर्नुभएको थियो । मन्त्रीका रूपमा उहाँको पहिलो निर्णय राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीतिले पनि सानै उमेरदेखि नै क्यान्सरबाट जोगाउन खोप दिने विषय समेटेको छ । सोही अनुरूप मन्त्री पौडेलले किशोरीलक्षित निर्णय गर्नुभएको हो । मन्त्री पौडेलले विश्व स्वास्थ्य शिखर सम्मेलनका क्रममा जर्मनीमा समेत विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशकलगायत अधिकारीहरूसँग नेपालले सञ्चालन गर्न लागेको खोप अभियानबारे जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गर्नुभएको थियो । एचपिभी खोपसम्बन्धी विश्व सञ्जाल गाभीलेसमेत मन्त्रालयलाई साथ दिने निर्णय गरिसकेको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको जानकारी दिँदै पाठेघरको मुखको क्यान्सरलाई निवारण गर्ने उद्देश्यले खोप अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । 

“विश्वभरबाट पाठेघरको मुखको क्यान्सर निवारण गर्ने लक्ष्य राखिएको छ,” डा. गौतमले भन्नुभयो, “किशोरीलाई खोप लगाएर बचाउन सकिएमा भोलिका दिनमा पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने छैन ।” उहाँले विद्यालय तहमा अध्ययनरत ६ देखि १० कक्षासम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालन हुन लागेको बताउनुभयो । डा. गौतमले १८ हजारभन्दा धेरै विद्यालयबाट खोप अभियान सुरु हुने जानकारी दिँदै विद्यालयबाहेकका किशोरीहरूका लागि छुट्टै आठ हजार खोप केन्द्र रहने बताउनुभयो । गत वर्ष सात प्रदेशका एक एक वटा सङ्घीय अस्पतालमा डेमोस्ट्रेसन (नमुना) का रूपमा ‘एचपिभी’ खोप अभियान सञ्चालन गरी नौ हजार ९९९ किशोरीलाई खोप दिइएको थियो ।

उहाँका अनुसार एचपिभी खोप ग्लोबल एलायन्स (गाभी) को सहयोगमा सरकारले खरिद गरेको हो । गौतमले ३३ प्रतिशत नेपाल सरकारको लगानी र बाँकी गाभीले लगानी गरेको जानकारी दिनुभयो । उहाँले गत वर्ष आएको खोप दुई पटक लगाउनुपर्नेमा अब आउने खोप एक पटक मात्रै लगाए पुग्ने बताउनुभयो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले एचपिभी खोप ९९ प्रतिशत प्रभावकारी रहेको बताउनुभयो । उहाँले सबै किशोरीलाई अभियानमा सहभागी भई खोप लगाउन आग्रह गर्दै पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ‘ह्युमन प्यापिलोमा’ नामक भाइरसको सङ्क्रमण रहेकाले यसको विरुद्ध खोप अनिवार्य रहेको बताउनुभयो ।