भैरहवा (रुपन्देही), कात्तिक २८ गते । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भैरहवामा निर्माणाधीन अवस्थामा रहेको नेपाल आयल निगमको पेट्रोलियम भण्डारण गृहको निरीक्षण गर्नुभएको छ ।
निरीक्षणका क्रममा उहाँलाई रुपन्देही क्षेत्र नं १ का सांसद तथा नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्माले आयल निगमको निर्माणले पेट्रोलियम क्षमता भण्डारणमा सहयोग गर्ने भएकाले यसको निर्माणलाई तीव्रता दिन आग्रह गर्नुभयो ।
त्यस क्रममा सङ्क्षिप्त कुरा गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले आयल निगमको निर्माणका विषयमा यहाँका सांसद तथा जनप्रतिनिधिले चासो देखाएको बताउँदै आफू काठमाडौँ पुग्नेबित्तिकै यसबारेमा छलफल अगाडि बढाउने बताउनुभयो ।
रुपन्देहीको भलबारी डिपोको भण्डारण क्षमता कम भएको तथा बस्तीनजिक रहेकाले निगमले खरिद गरेको १३ दशमलव ५ बिघा जग्गामा नयाँ भण्डारण गृह निर्माण गर्न लागिएको निगमले जनाएको छ । सो भण्डारण लुम्बिनी प्रदेशको २० दिनको माग धान्ने छ । निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा भण्डारण गृह निर्माण गरिरहेको छ ।
करिब तीन अर्बको लागतमा भण्डारण गृह निर्माण गर्न लागिएको छ । सो स्थानमा डिजेल भण्डारणका लागि दुई हजार एकसय किलोलिटर क्षमताका तीन, पेट्रोल भण्डारणका लागि एक हजार छसय किलोलिटर क्षमताका दुई र मट्टितेल भण्डारणका लागि ७० किलोलिटर क्षमताका तीन वटा ट्र्याङ्क निर्माण गरिनेछ । रासस