• १८ मंसिर २०८१, मङ्गलबार

वक्यौता नतिरे पुनः लाइन काटिन्छः कुलमान घिसिङ

blog

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ। तस्बिर:केशब गुरुङ

 काठमाडौ, कात्तिक २८ गते ।  विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र उद्योगी व्यवसायीहरुले सरकारको निर्देशनअनुसार वक्यौता नतिरे उद्योगहरूको लाइन पुनः काटिदिने बताउनुभएको छ ।

बुधवार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले नेपाल सरकारले स्पष्ट रुपमा १५ दिनभित्र उद्योगीहरुसँग विद्युत वक्यौता उठाउन निर्देशन दिएको भन्दै त्यसको कार्यान्वयन प्राधिकरणले उद्योगको लाइन जोडेर शुरु गरेको बताउनुभएको हो । 

उहाँले नेपाल सरकारको निर्देशनअनुसार उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रंक लाइनको बाँकी वक्यौता १५ दिनभित्र वक्यौता बुझाउनुपर्ने बताउनु भयो । उहाँले १५ दिनको अवधिमा वक्यौता नबुझाए प्राधिकरण आफ्नो प्रक्रियामा फेरि पनि लाग्ने चेतावनी दिनुभयो । उहाँले १५ दिनभित्र वक्यौता नउठे त्यसको जिम्मा नेपाल सरकार र ऊर्जा मन्त्रालयले पनि लिनुपर्ने उल्लेख गर्नुभयो । 

निर्देशक घिसिङले प्राधिकरणले कानूनी रूपमा वक्यौता उठाउन लाइन काटेको अवस्थामा हाललाई २४ घण्टाभित्र लाइन जोड्ने निर्देशन प्राप्त भएकाले कार्यान्वयन गर्न प्राधिकरण बाध्य भएको बताउनु भयो । प्राधिकरणले विभिन्न समयमा गरी तीन पटक लाइन काटेकोमा नेपाल सरकारले गरेको निर्णयअनुरूप जोडिरहेको भन्दै अहिले पनि सरकारको निर्देशन र निर्णयलाई प्राधिकरणले पालना गरेको बताउनु भयो । 

कार्यकारी निर्देशक  घिसिङले डेडिकेटेड र ट्रंक लाइन विवादमा प्राधिकरणले यसअघि काटेको बिल नै ठिक भएको जिकिर गर्नुभयो । उहाँले मन्त्रिपरिषद् बैठकले आईतवार टीओडी मिटरका आधारमा १५ दिनभित्र डेडिकेटेड र ट्रंक लाइनको महशुल उठाउने निर्णय गरे पनि आफूहरूले पहिले काटेको बिल नै सही भएकाले नयाँ गणना नगर्ने बताउनु भयो । 

उहाँले अहिलेसम्म प्राधिकरणले काटेको बिल कुनै पनि निकायले ठिक छैन नभनेको भन्दै त्यही बिलका आधारमा वक्यौता रकम उठाउने बताउनु भयो । उहाँले फेरि पनि १५ दिनभित्र भुक्तानीका लागि त्यही बिल पठाएको बताउनु भयो । प्राधिकरणले विगतका काटेको टीओडी डाटा कुनै संशोधन गर्नु नपर्ने दाबी गर्नुभयो ।

उहाँले यही बिल ठिक छ भनेर अदालत, संसद्को लेखा समिति तथा विद्युत नियमन आयोग लगायतले भनेको बताउनु भयो ।

उहाँले डेडिकेटेड र ट्रंक लाइनको बाँकी विद्युत महशुल उठाउने विषयमा आफ्नो राजश्व उठाउने बाहेक कुनै व्यक्तिगत र राजनीतिक स्वार्थ नभएको बताउनु भयो । उहाँले विद्युत प्राधिकरणमा बसेर व्यक्तिगत र राजनीतिक फाइदाको लागि नाजाहेज काम गर्नु नपरेको बताउनु भयो । उहाँले नेपालको ऐन कानूनका आधारमा काम गरिरहेको बताउनु भयो । उहाँले कुनैपनि विषयमा विचलित नभई डेडिकेटेड र ट्रंक लाइनको बाँकी विद्युत महशुल उठाउने प्रतिवद्धता जनाउनु भयो ।