• ७ मंसिर २०८१, शुक्रबार

नेतृत्वका लागि उम्मेदवारबिच रस्साकस्सी

blog

छलफलमा एमाले नेता कार्यकर्ताहरु ।

कोकिला ढकाल

इलाम, कात्तिक २८ गते । नेकपा (एमाले) इलामको ११ औँ जिल्ला अधिवेशन नजिकिँदै गर्दा जिल्लाको नेतृत्व लिन जिल्ला तहका एमाले नेताहरूबिच रस्साकस्सी बढेको छ । 

कात्तिक २९ गते बिहीबार र शुक्रबार सदरमुकाममा ११ औँ जिल्ला अधिवेशन सुरु हुँदैछ । यो अधिवेशनबाट जिल्ला कमिटी अध्यक्ष, उपाध्यक्ष, सचिव, उप–सचिव दुई गरी पाँच पदाधिकारीका लागि निर्वाचन हुनेछ । यस्तै, बढीमा एकसय २५ जनाको जिल्ला कमिटी गठन हुने एमाले पदाधिकारीको भनाइ छ ।  

एमाले जिल्ला कमिटी पूर्व अध्यक्ष महेश बस्नेत र अर्का पूर्वअध्यक्ष राम रानाका फरक–फरक समर्थक तथा जिल्ला तहका नेताहरू पदाधिकारीको पाँचवटा पदमा आ–आफ्नो मौखिक दाबी प्रस्तुत गर्न थालेका छन् । केही नेताहरूले आफूहरू बिचको अर्थात् यी दुई धारमध्ये विन्दुबाट पनि उम्मेदवार दिने बताएका छन् । 

यस पटक अध्यक्ष पदका लागि अहिले अधिवेशन आयोजक कमिटी अध्यक्ष गणेश बराल, नरेन्द्रनाथ भट्टराई र डा. देवी क्षेत्री दुलालले उम्मेदवारी दिने बताउनुभयो । ११ औँ अधिवेशन आयोजक कमिटी अध्यक्ष बराल कोशी प्रदेश कमिटी सदस्य हुनुहुन्छ भने पार्टीको जिल्ला सचिव भइसक्नु भएको छ ।

अध्यक्ष पदका अर्का उम्मेदवार नरेन्द्रनाथ भट्टराई अहिले पार्टीको केन्द्रीय सल्लाहकार सदस्य र लामो समयदेखि एमाले जिल्लाको राजनीतिमा सक्रिय  हुनुहुन्छ । विगतमा पार्टीको जिल्ला उपसचिव, सचिव भइसकेका भट्टराई सातौँ जिल्ला अधिवेशनमा मणिकुमार लिम्बूसँग अध्यक्षमै पराजित हुनुभएको थियो । 

दसौँ अधिवेशनमा अध्यक्षमा पराजय भोगेका डा. देवी क्षेत्री दुलालले यस पटक पनि अध्यक्षका लागि आफ्नो उम्मेदवारी रहने बताउनुभयो । आफू सर्वसम्मत रूपमा अध्यक्ष बन्न सोही पदका अन्य आकाङ्क्षीसँग छलफल भइरहेको दुलाल बताउनुहुन्छ । सर्वसम्मत नभए आफू निर्वाचनमा नजाने दुलालको भनाइ छ ।