• ७ मंसिर २०८१, शुक्रबार

ताप्लेजुङमा कांग्रेसको सय दिने अभियान

blog

अभियानको शुभारम्भ गर्नुहुँदै काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सरस्वती बजिमय ।

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक २८ गते । ताप्लेजुङमा नेपाली कांग्रेसको सय दिने विशेष अभियान सुरु भएको छ । अभियानका केन्द्रीय प्रतिनिधि तथा कांग्रेस केन्द्रीय सदस्य सरस्वती बजिमयको उपस्थितिमा जिल्लामा अभियानको सुरुवात भएको हो । 

प्रतिनिधिसभा सदस्यसमेत रहनुभएकी केन्द्रीय सदस्य बजिमयको उपस्थितिमा मङ्गलबारदेखि अभियानको सुरुवात गरिएको नेपाली काँग्रेस जिल्ला सचिव युकहाङबिर हाङ्गामले जानकारी दिनुभयो । मेरिङ्देन गाउँपालिका अध्यक्षसमेत रहनुभएको हाङ्गामका अनुसार सदरमुकाम फुङ्लिङमा कार्यक्रम गरी अभियानको शुभारम्भ गरिएको छ ।

अगामी पुस १६ गतेसम्म सञ्चालन हुने विशेष अभियानमा पार्टीभित्रको आन्तरिक समस्या तथा राष्ट्रिय राजनीतिक परिस्थिति, सत्ता सञ्चालन लगायतका विषयमा केन्द्रित गतिविधि अभियानमा गरिनेछ । पार्टीले लिएका मुख्य एजेन्डा, महासमितिबाट पारित दस्ताबेज, समस्या समाधानको पहल, संविधान संशोधनको विषय लगायतबारे अभियानमा छलफल हुने काँग्रेसले जनाएको छ । 

अभियान शुभारम्भ कार्यक्रममा कांग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङसहितका पदाधिकारी, प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिम, जिल्लास्तरीय अगुवा कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।