• ७ मंसिर २०८१, शुक्रबार

खानेपानीको लागि देउसीबाट ३ लाख बढी सङ्कलन

blog

खानेपानी योजना सञ्चालनको लागि देउसी खेल्दै । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई

खोटाङ, कात्तिक २८ गते । खानेपानी आयोजना सञ्चालनका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा देउसी खेलेर ३ लाखभन्दा बढी रकम सङ्कलन गरिएको छ । सुख्खा क्षेत्र च्यास्मीटारमा खानेपानी आयोजना सञ्चालनका लागि जनप्रतिनिधि र स्थानीयले देउसी खेलेर रकम सङ्कलन गरेका हुन् ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको शहरबोटे मुहानको पानी लैजानका लागि रकम जुटाउन कात्तिक २७ गते च्यास्मीटार माध्यमिक विद्यालयको प्राङ्गणमा देउसी आयोजना गरिएको हो । २०७० सालमा सञ्चालनमा आएर ठप्प बनिसकेको सहरबोटे खानेपानी आयोजनालाई पुःन सञ्चालनमा ल्याउनका लागि च्यास्मीटारका नागरिकले हरिबोधनी एकादशीको दिन पारेर आर्थिक सङ्कलन कार्यक्रम गरेका हुन् । हरेक योजनाका लागि सरकारको मुख ताक्ने प्रवृत्ति विपरीत च्यास्मीटारका नागरिकले समुदायको सहभागितामा खानेपानी आयोजना सञ्चालन गर्न अग्रसरता देखाएका हुन् । 

हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईको उपस्थितिमा कात्तिक २१ गते च्यास्मीटारमा भएको सर्वदलीय बैठकले शहरबोटे खानेपानी योजना सञ्चालनका लागि शिक्षक चेसकुमार राईको संयोजकत्वमा आर्थिक सङ्कलन मूल समिति गठन गर्दै देउसीभैली आयोजना गर्ने निर्णय गरेको थियो । 

नाचगानसहित आयोजना गरिएको देउसी तथा विभिन्न आर्थिक सङ्कलन उपसमितिबाट ३ लाख १७ हजार ७१६ रुपियाँ सङ्कलन भएको आर्थिक सङ्कलन मूल समितिका संयोजक राईले बताउनुभएको छ । आयोजनाका लागि केही दिनसम्म आर्थिक सङ्कलन गरेर अभियान बन्द गर्ने तयारी गरिएको छ । रकम जुटाउन निजामती, सुरक्षाकर्मी, व्यवसायी, वैदेशिक रोजगारमा संलग्न व्यक्ति लगायतको उपसमिति गठन गरिएको थियो । 

शहरबोटे मुहानको पानी हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा लैजानका लागि २०६२ सालमा १८ रोपनी खेतसहित खरिद गरिएको थियो । तर हालसम्म व्यक्तिको नाममा राखिएको खेतसहितको मुहान मेयर राईको पहलमा गत कात्तिक ७ गते वडा कार्यालय च्यास्मीटार र बडहरेको नाममा पास गरिएसँगै समुदायको सहभागितामा योजना सञ्चालन गर्ने तयारी थालिएको हो । शहरबोटे खानेपानी आयोजनाका लागि नगरपालिकाले बजेट विनियोजन गरेको अवस्थामा समुदायबाट स्वतःस्फूर्त आर्थिक सङ्कलन भएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर राईले बताउनुभयो । मेयर राईका अनुसार १ करोड ८२ लाखमा एक लिफ्ट गरेर च्यास्मीटार र बडहरे लैजाने गरि इमी नामक संस्थाको सहयोगमा डिपिआर तयार पारिएको छ । 

बडहरे र च्यास्मीटारमा खानेपानी विस्तारका लागि २०६५ सालमा सुरु गरिएको सहरबोटे खानेपानी योजना २०७० माघमा पूरा गरिएको थियो । ८१ लाख खर्च गरेर २०७० सालमा सञ्चालनमा ल्याइएको सहरबोटे खानेपानी योजना मर्मत सम्भार अभावमा प्रायः बन्द भइसकेको छ । सोही मुहानलाई समुदायको सहभागीतामा व्यवस्थित तरिकाले पुनः च्यास्मीटार र बडहरे लैजानका लागि चालु आर्थिक वर्षबाटै काम सुरु हुने मेयर राईले बताउनुभयो ।