• ७ मंसिर २०८१, शुक्रबार

अझै पुगेन खानेपानी

blog

नवलपरासी समाचारदाता 

गैँडाकोट, कात्तिक २८ गते । पूर्वपश्चिम राजमार्गको गैँडाकोट नगरपालिका सुगम र विकसित पालिकाका रूपमा रहे पनि यहाँको मुख्य राजमार्गबाट १० किलोमिटर उत्तरमा रहेको ढोँडेनीगाउँमा अझै खानेपानी पुगेको छैन । गैँडाकोट नगरपालिका–३, ढोँडेनीगाउँका चार सय घरपरिवार बर्सौंदेखि खानेपानी सुविधाबाट वञ्चित छन् । त्यहाँका चार सय घरपरिवारका झन्डै दुई हजार स्थानीय शुद्ध खानेपानीबाट वञ्चित हुनु परेको गैँडाकोट नगरपालिका–३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो ।  

नगरपालिका–३ र १८ मा सबैभन्दा मुख्य समस्या भनेको खानेपानी नै हो । अहिले वडा नं. ३ ढोँडेनीगाउँ भएर कालीगण्डकी कोरिडोर निर्माण भई यातायातसमेत सञ्चालन हुने गरेको छ । धेरै टाढाबाट पानी ल्याउन बजेटको समस्या भएकैले यहाँका बासिन्दाले शुद्ध खानेपानी पिउन नपाएको वडाध्यक्ष तिवारीले गुनासो गर्नुभयो । गाउँबाट खोलाको मुहान करिब १४ किलोमिटर टाढा रहेको र अहिले पनि अस्थायी पाइप राखेर खानेपानी ल्याइएको छ । धारामा प्रायः पानी नआउने हुँदा शुद्ध खानेपानीबाट यहाँका स्थानीय वञ्चित रहेको स्थानीय समाजसेवी दीपक मगर बताउनुहुन्छ । यहाँबाट खानेपानी योजना सञ्चालनका लागि ११ करोडभन्दा बढी रकम आवश्यक पर्ने भएकाले सो रकम जुटाउन धेरै प्रयास भएको गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभयो । यस सम्बन्धमा सङ्घीय र गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो । 

चार सय घरपरिवारका करिब दुई हजारको बसोबास रहेको ढोँडेनीगाउँका धेरै जसो बासिन्दा अहिले कुवाको पानी खान बाध्य छन् । धारामा कहिलेकाहीँ पानी आउने गरेको र पानी आउँदा घन्टौँ लाइनमा बस्नुपर्ने बाध्यताले हैरानी खेप्नु परेको स्थानीय शिक्षक शम्भु तिवारीले बताउनुभयो ।