• ८ मंसिर २०८१, शनिबार

लाग्न थाल्यो वनभोज खानेको भिड

blog

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), कात्तिक २८ गते । कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडका नन्दा क्षेत्री रोजगारीका लागि परिवारसहित भारतको बैङ्गलोर बस्नुहुन्छ । दसैँतिहार मनाउन घर आएका बेला उहाँको परिवारले यस पटक तीन दिनसम्म देउसीभैलो खेलेर रमाइलो ग¥यो । 

पारिवारिक देउसीभैलोबाट उठेको रकमले उहाँहरूले टीकापुर गएर वनभोज कार्यक्रम गर्नुभयो । नन्दा भन्नुहुन्छ, “श्रीमान् मादल बजाउन सिपालु, हामी नाच्न गाउनमा रमाउने । वर्षभरि भारतमा काम गरेर दुःख गरे पनि घरमा आएपछि परिवार, अरू दाजुभाइ मिलेर भैलो खेल्दा रमाइलो भयो ।” तिहार सकिएलगत्तै देउसीभैलो खेलेर कैलालीका टीकापुर, घोडाघोडीलगायत क्षेत्रमा वनभोज खानेको लर्को नै लाग्ने गरेको छ ।

घोडाघोडी तालनजिकै रहेको टेग्नुवा महिला सामुदायिक वनमा बनाइएको वनभोज स्थलमा वनभोज खानेको भरिभराउन देखिन थालेको छ । 

बर्दगोरिया गाउँपालिका–४, मुडादेखि वनभोज कार्यक्रममा आएका मनसरा साउदले भैलो खेलेर वनभोज खान आएको बताउनुभयो । उहाँले ५० जनाको समूह वनभोज कार्यक्रममा आएको बताउनुभयो । त्यसै गरी घोडाघोडी नगरपालिका–१, लोहरपुरका जगत नेपाली पनि वनभोज खान घोडाघोडी आएको बताउनुभयो । उहाँले गाउँमा भैलो खेलेर जम्मा भएको रकमले वनभोज कार्यक्रम गरेर रमाइलो गर्न आएको बताउनुभयो । साना बालबालिका, युवकयुवतीदेखि पाका उमेरका मानिससमेत भैलो खेलेर वनभोज कार्यक्रममा रमाउने गरेका छन् । घोडाघोडी नगरपालिका–१, करैचागाउँका थारू समुदायका महिला आफ्नै पोसाकमा वनभोज कार्यक्रममा रमाइरहेका थिए । 

देउसीभैलो खेलेर वनभोज कार्यक्रममा रमाइरहेकी सङ्गीता चौधरीले भन्नुभयो, “सधैँ कामकाजमा व्यस्त रहने हामी गाउँकै दिदीबहिनी मिलेर दुई दिन भैलो खेलेर रमाइलो गर्न पिकनिक खान आएका छौँ ।”

वनभोज स्थलको रेखदेख र सरसफाइको जिम्मा पाएका स्थानीय पुरन भट्टले घोडाघोडीमा वनभोज खान आउनेबाट निश्चित शुल्क लिनुका साथै दैनिक सरसफाइको काम आफूले गर्दै आएको बताउनुभयो । उहाँले सामुदायिक वनले तोकेको शुल्क आफूले उठाउने र उठेको शुल्कबाट ५० प्रतिशत सामुदायिक वनलाई बुझाउनुपर्ने जानकारी दिनुभयो ।

घोडाघोडीमा वनभोज खान आउने समूहको सवारीसाधन अनुसार शुल्क लिने गरिएको छ । बसको पाँच सय, ट्याक्टरको तीन सय र अटोमा मानिसको सङ्ख्या हेरी दुई सयसम्म लिने गरिएको छ । यसरी घोडाघोडीमा वनभोज स्थलको शुल्कले सामुदायिक वनको समेत राम्रै आम्दानी हुने गरेको छ ।

टेग्नुवा महिला सामुदायिक वनका अध्यक्ष मैना ढकालले वनभोज कार्यक्रमका लागि कात्तिक र मङ्सिरमा घोडाघोडीमा बढी आउने बताउनुभयो । वनभोज स्थलको शुल्कबाटै सरसफाइ, खानेपानीको व्यवस्था, वन हेरालुको पारिश्रमिक दिने गरेको अध्यक्ष ढकालले जनाउनुभयो ।