• ७ मंसिर २०८१, शुक्रबार

राजनीतिक स्थायित्वबाटै देशको विकास हुन्छ : महासचिव पोखरेल

blog

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ।

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २७ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्व हुने हो भने देश निर्माणमा धेरै समय नलाग्ने बताउनुभएको छ । विराटनगरमा मंगलबार नेकपा (एमाले) संगठन कमिटी मोरङद्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

पोखरेलले देश विकासको लागि राजनीतिक स्थायित्व आवश्यक पर्ने बताउनुभयो । अन्य देशले गरेको विकासलाई हेरेर नेपालको राजनीतिक दललाई गाली गर्नुभन्दा पनि नेपाली मौलिकताको विकास मोडल अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । 

नेपालको विकास तेल बेचेर धनी भएका अरबियन मुलुकजस्तो सोचेर नहुने उहाँको धारणा छ । नेपालको विकास रातारात हुने खालको विकास नभएको उहाँले बताउनुभयो । नेपालको विकास सरकारले एक्लै गर्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो । ‘नेपालको विकासको ढाँचा जनतालाई साथमा लिएर विकास गर्ने ढाँचा हो’ उहाँले भन्नुभयो । 

नेकपा (एमाले) देशमा स्थायित्व र स्थिरताका लागि लडिरहेको पार्टी भएको उहाँले प्रष्ट पार्नुभयो । अहिले एमाले र एमाले नेतृत्वको सरकारमाथि प्रहार भइरहेको उहाँले बताउनुभयो । एमालेसँग भएको विशाल कार्यकर्ताको समूह चुनाव जित्नका लागि मात्र होइन, समाज बदल्न सक्ने सामर्थ्य राख्ने शक्ति भएको उहाँले बताउनुभयो । एमालेको लक्ष्य चुनाव जित्ने मात्र नभएर समाज परिवर्तनको भएको उहाँले स्पष्ट पार्नुभयो । 

कमजोरहरूले शासन गर्न थालेपछि सरकारप्रति जनताको विश्वास नरहेको उहाँले बताउनुभयो । त्यसैले देश ओरालो गतिमा लागेको पोखरेलको भनाइ छ । ‘स्वाभाविक रूपमा मुलुक संकटमा पर्नुको कारण त्यही हो, पोखरेलले भन्नुभयो । 

पोखरेलले एमाले सिध्याउन धेरै शक्ति लागेका भए पनि उनीहरू सफल नहुने बताउनुभयो । अहिले एमाले सिध्याउन खोज्नेहरूको मन पोलेको उहाँले टिप्पणी गर्नुभयो ।