• ८ मंसिर २०८१, शनिबार

मर्दीमा सम्पर्कविहीन तामाङको शव भेटियो

blog

मर्दी हिमाल । तस्बिर सौजन्य : मनिरत्न शाही

फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक २७ गते। मर्दी हिमाल आरोहणका क्रममा आइतबारबाट सम्पर्कविहीन पथप्रदर्शक लालबहादुर तामाङको शव मङ्गलबार भेटिएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ मा पर्ने मर्दी हिमाल आरोहणमा पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै जानुभएका तामाङ हिमाल आरोहणका क्रममा लडेर बेपत्ता हुनुभएको थियो।

मङ्गलबार बिहान हेलिकोप्टरबाट शव रहेको ठाउँ पत्ता लागेपछि दिउँसो शव निकाल्ने प्रयास भएको थियो। गाउँपालिकाका प्रवक्ता गणेश आचार्यले तामाङको शव अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ को सीमातिर देखिएको र निकाल्न नसकिएको जानकारी दिनुभयो।

“आरोहणका क्रममा बाटोबाट तल खसेको देखिएपछि हेलिकोप्टर घटनास्थलभन्दा केही पर ल्यान्ड गरी शव निकाल्ने प्रयास भयो’’, आचार्यले भन्नुभयो, “शव अप्ठ्यारो स्थानमा भएकाले निकाल्न सकिएन।” शव निकाल्न भएको शेर्पासहितको टोली होलिकोप्टरबाटै पोखरा फर्किएको छ। 

बुधबार फेरि शव निकाल्ने प्रयास गरिने उहाँले बताउनुभयो। काठमाडौंको सनराइज कम्पनीमा मुख्य पथ प्रदर्शकका रुपमा कार्यरत ६२ वर्षीय तामाङ एक नर्वेली नागरिक र चार नेपाली लिएर मर्दी आरोहणमा जानुभएको थियो।