• ७ मंसिर २०८१, शुक्रबार

झापाको सताक्षीधाममा ‘गोरक्षा महोत्सव’ हुने

blog

गोलोक गोवर्धन गौशाला ।

विष्णुप्रसाद पोखरेल

दमक, कात्तिक २७ गते । गाईगोरुको संरक्षण तथा सुरक्षाका लागि साझा सङ्कल्प गराउने उद्देश्यले झापाको सताक्षीधाममा ‘गोरक्षा महोत्सव २०८१’ हुने भएको छ । यसका लागि आवश्यक तयारी सुरु भएको बताइएको छ ।

गोलोक गोवर्धन गौशालाको मुख्य आयोजनामा आगामी मङ्सिर १४ देखि २४ गतेसम्म हुने श्री सताक्षी गोरक्षा महोत्सव २०८१ सम्पन्न गर्नका लागि आवश्यक तयारी तीव्र रूपमा भइरहेको गोलोक गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजले बताउनु भयो । मुख्य उद्देश्य भनेकै धेरै भन्दा धेरैलाई गाईगोरुको संरक्षणका लागि जागृत गराउने रहेको समेत जनाइएको छ ।

निरन्तर १० वर्षदेखि गोरक्षाका लागि लागिपरेका छौँ र यसको उद्देश्य भनेको गाईको संरक्षण र संवर्द्धनका लागि आम नागरिकलाई प्रेरित गर्नु रहेको छ, महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहनुभएका भारद्वाजले भन्नुभयो । गाईगोरु बुढा भएपछि त्यसको संरक्षण र दायित्वबाट सबै पन्छन खोज्ने भएकाले आफूहरूले यसको संरक्षण अभियान चलाएको उहाँको भनाइ छ ।

धेरैजसो महायज्ञहरू आर्थिक उपार्जनका लागि गरिन्छ तर हाम्रो उद्देश्य त्यस्तो छैन, भारद्वाजको भनाइ छ । हामी नाफाभन्दा पनि गाईगोरुको संरक्षणमा सबैको ध्यान जाओस् भन्नेमा रहेका छौँ, उहाँले भन्नुभयो । सबैको साथ र सहयोग पाएको अवस्थामा आफूहरू उद्देश्य अनुरूप सफल बन्ने उहाँले उल्लेख गर्नुभयो ।

यहाँको महोत्सवमा विषयमा अमेरिका, अस्ट्रेलिया, क्यानडा, न्युजिल्याण्डलगायत नेपाली भाषी रहेको युरोपियन मुलुकमा समेत प्रचारप्रसार भइरहेको र त्यहाँबाट समेत धार्मिक गुरुहरू सहभागी हुने बताइएको छ । विश्वभरका नेपाली भाषी धार्मिक गुरुहरू महोत्सव आउनु हुनेछ र यस क्षेत्रको महत्वको विषयमा बाहिर लैजान सहयोग पुर्‍याउनु हुनेछ, उहाँको भनाइ छ । 

गोलोक गोवर्धन गौशालामा ७ सयभन्दा बढी गाईगोरुहरु छन् । अलपत्र छाडिएका, बिरामी तथा अशक्त, बुढा भएर काम नलाग्ने भएपछि स्थानीयले ल्याएर राखेका गाईगोरुहरुको संरक्षण गौशालाले गर्दै आएको छ । यसका साथै अति विपन्नहरूलाई बाछाबाछी तथा दुहुनु गाईहरू गौशालाले निःशुल्क पनि उपलब्ध गराउने गरेको छ । भारद्वाजका अनुसार अहिलेसम्म २ हजारभन्दा बढी गाईगोरु स्थानीयलाई वितरण गरिएको छ । उनीहरूले अशक्त भएपछि ल्याउँदा तिनीहरूको संरक्षण पनि आफूहरूले गर्ने गरेको बताउनुभयो ।

यसैगरी, महोत्सवसँगै धनधान्याञ्चल ज्ञान महायज्ञ, पञ्चकुण्डीय श्रीरुद्र महायज्ञ, श्री तुलसी शालिग्राम, श्री सीताराम विवाह तथा लिङ्ग महापुराण कथा प्रवचन हुने यस वर्षको महोत्सवमा सवा करोड रुद्राक्ष मालाजडित ५१ फिट अग्लो रुद्राक्षको पार्थिव शिवलिङ्गमा विशेष पूजा अर्चना हुने पनि आयोजकको भनाइ छ । रुद्राक्षजडित शिवलिङ्ग निर्माण कार्य सुरु भएको आयोजक गोलोक गोवर्धन गौशालाका सचिव मदनमोहन अधिकारीले बताउनुभयो ।

सताक्षीधाम मन्दिर विकास समितिका पूर्व अध्यक्ष प्रसाद सुब्बाका अनुसार सताक्षीधामका लागि यो महोत्सव गौरवलायक हुने बताउनुभयो । उहाँले गाईगोरु संरक्षणका लागि नेपाल नै यो ठुलो र महत्त्वपूर्ण महोत्सव भएको जनाउनु भयो । राष्ट्रिय जनवार र भगवानको रूपमा समेत पूजा गरिने गाईगोरुको संरक्षणका लागि गौशालाले दिएको योगदानमा राज्यको सहयोग अपरिहार्य भएको उहाँको भनाइ छ ।

पूर्व–पश्चिम राजमार्गको झिलझिले बजारबाट साढे चार किलोमिटर उत्तर चुरे पहाडको फेदीमा धार्मिक तथा पर्यटकीय तीर्थस्थल सताक्षीधाम रहेको छ । महाभारतकालीन समयमा पाण्डवले वनवासको बेला गुप्तबास बसी सताक्षीदेवीको आराधना गरेका र पृथ्वीमा सुक्खा लागेपछि सतीदेवीले आफ्नो सय ओटा आँखाबाट एकैचोटि अश्रुवर्षा गरी खोलो बगाएको हुँदा देवीको नामबाट सतासी हुँदै यस क्षेत्रको नाम सतासीधाम रहेको मान्यता रहँदै आएको छ ।