• ७ मंसिर २०८१, शुक्रबार

तोरी खेतीप्रति आकर्षण बढ्दाे

blog

सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा किसान ललित मेहताले लगाउनुभएको तोरी बाली । तस्विर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, कार्तिक २७ गते । सुनसरीका किसानहरु केही वर्षयता तोरी खेतीप्रति आकषित भएका छन् । बजारमा पाइने प्याकेटको खाने तेलको उपभोगबाट देखिएको समस्या र स्वास्थ्यमा असर देखिएपछि आफ्नै खेतबारीमा तोरी खेती लगाउने गरेका छन् । 

दशक अघिसम्म सघन रुपमा लगाउँदै आएको तोरी बाली केही वर्षदेखि लोपोन्मुख अवस्थामा पुगेकोमा अस्वस्थकर तेलले देखिएको असरबाट फेरि किसानहरु तोरी बालीप्रति आकर्षित बनेका हुन् । जिल्लाको सदरमुकाम इनरुवा र आसपास क्षेत्रमा तोरी खेती गर्ने क्रम बढेको छ । बजार आएको विभिन्न ब्राण्डका खानेतेलमा अत्यधिक मिसावट भएको र त्यसले स्वास्थ्यमा असर गर्न थालेपछि किसानहरु तोरी खेतीमा लागेको बताइएको छ ।

सुनसरीमा बर्सेनी तोरी खेती बढ्दो क्रममा रहेको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । कृषि प्राविधिकहरुले दिएको जानकारी अनुसार कृषिका लागि उर्वर मानिने यहाँका खेतमा तोरी राम्रो फल्ने र बजार माग समेत रहेकाले तोरी खेती प्रति कृषकहरु आकर्षित बनेका छन् । जिल्लामा खेतीयोग्य जमिनको ८४ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेकाले केही वर्षयता तोरी खेती विस्तार भइरहेको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । तेलहन बालीको रुपमा सूर्यमुखी, सर्सो र तोरी लगाउँदै आएकोमा यसपाली तोरी खेती बढी गरिएको इनरुवा कृषि शाखाले जनाएको छ ।

बजारमा तोरी प्रति क्युन्टल १५ हजार र शुद्ध तोरी तेल प्रति लिटर ३२० रुपियाँ माथि विक्री हुने भएकाले तोरीको उत्पादन कम भएपछि घाटा नलाग्ने भएकाले किसानहरु तोरी खेतीतर्फ आकर्षित बनेको किसान रामसेवक साहले बताउनुभयो । खाने तेलमा अत्यधिक मिसावट तथा मानव स्वास्थ्यमा खाने तेलको असर गर्ने चिकित्सकको प्रतिक्रिया बाहिर आएपछि यहाँका कृषक तोरी खेतीमा जुर्मुराएको हरिनगर गाउँपालिका कृषि शाखाका प्राविधिक भुवनेश्वर यादवले बताउनुभयो ।

यसपालि आएको बाढीले धानमा क्षतीि पुगेको र छोटो समयमा हुने भएकाले तोरी खेती बढी लगाइएको यादवको भनाइ छ । इनरुवा ९ बबियाका किसान ललिलकुमार मेहताका अनुसार खेतमा तोरी लगाउँदा उत्पादन लागत कम लाग्ने प्रतिकट्ठा २० देखि ५० केजीसम्म उत्पादन हुने भएकाले फाइदा बढी हुने र बजारको समस्या नभएकोले यहाँका कृषक तोरी खेतीमा लागेको हो । मेहताले आफूलाई स्वास्थ्य खानेतेल पनि हुने भएकाले गहुँ र मकैं छाडेर तोरी लगाएको बताउनुभयो । उत्पादनमा खासै मिहिनेत पनि पर्दैन उहाँले भन्नुभयो, "आम्दानी राम्रो छ, खानलाई पनि राम्रो र स्वस्थकर हुने भएर तोरी खेती बढेको छ ।"

सुनसरीको भोक्राहा नरसिंह, हरिनगर, गढी र बर्जु गाउँपालिका तथा वराहक्षेत्र नगरपालिकादेखि सीमामा देवानगञ्जसम्म खाध्यान, दलहन र तेलहन बाली खेतीका लागि उर्वर माटो भएकाले तीन बालीसम्म लगाउन सकिने उत्पादकत्व क्षमता भएकोले तोरी पनि राम्रो फलेको अर्का किसान इनरुवा ९ बबियाका मुसहरु साहले बताउनुभयो ।

साहका अनुसार तोरी उत्पादनका लागि वर्षमा तीन बाली दिन सक्ने खेत हुनुपर्छ, त्यसमा धान भित्र्याएपछि असोज, कात्तिकमा तोरी लगाएर पुसमा भित्र्याउन सकिन्छ, त्यसपछि पनि केहीले प्याज, मकै र धानजस्ता बाली लगाउने गर्छन् । यसरी बढीमा दुई महिनामा तोरी उत्पादन हुने र मल पनि त्यति खासै हाल्न नपर्ने, एक पटक सिंचाइ गरेपछि पुग्ने भएकाले तोरी खेतीमा आकर्षण बढेको अर्का किसान दशरथ साहले बताउनुभयो । 

तेलका लागि प्रयोग हुने यहाँ उत्पादित तोरीका लागि अन्य ठाउँमा बजार खोज्न नपर्ने भएकाले पनि तोरी प्रायः किसानले दुई कट्ठादेखि तीन बिघासम्ममा लगाएको साहले बताउनुभयो । यस जिल्लाको वराहक्षेत्र, इनरुवा, रामधुनी, देवानगञ्ज र गढी क्षेत्रमा तोरी बढी उत्पादन हुने र सो क्षेत्रमा तोरी खपत हुने कोशी गाउँपालिका कृषि शाखाका कृषि प्रविधिक सुनिलकुमार साहले बताउनुभयो । तोरी बाली लगाउदाँ किसानलाई फाईदा नै फाइदा भएकाले किसानहरुले तोरी बाली लगाइएको साहको भनाइ छ ।