• ९ मंसिर २०८१, आइतबार

पुनर्निर्माण सुरु गर्न सरकारको ध्यानाकर्षण

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, कात्तिक २७ गते । भूकम्पबाट प्रभावित क्षेत्रका जनप्रतिनिधिले पुनर्निर्माण सुरु नहुँदा स्थानीय बासिन्दा सङ्कटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

रुकुमपश्चिम र जाजरकोटबाट प्रतिनिधित्व गर्ने सङ्घीय र प्रदेश सरकारका प्रतिनिधिहरू र स्थानीय तहका प्रमुखले प्रधानमन्त्रीलगायतसँग तत्काल पुनर्निर्माणको माग गरेका छन् । 

जनप्रतिनिधिहरूले सिंहदरबार पुगेर प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पाँचबुँदे माग राखेका छन् । पूर्वअर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्माको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकसमक्ष मागपत्र पेस गरेको हो भने त्यसअघि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण पुगेर कार्यकारी निर्देशक अनिल पोखरेललगायतसँग छलफल गरेको छ । 

पूर्वमन्त्री शर्माका अनुसार भूकम्पबाट जाजरकोट, रुकुमपश्चिम, सल्यान, डोटी र बझाङ जिल्लामा भएको क्षति र उक्त क्षेत्रमा तत्काल पुनर्निर्माणको अभियान सञ्चालनका लागि मागपत्र पेस गरिएको छ । उहाँले स्थायी आवास निर्माण, सरकारी संरचना पुनर्निर्माण र अस्थायी आवासको दोस्रो किस्ताको रकमबारेमा पाँचबुँदे माग राखेर कार्यान्वयनका लागि गम्भिर ढङ्गले छलफल गरेको जानकारी दिनुभयो । 

ज्ञापनपत्रमा पुनर्निर्माण कार्यविधि तत्काल उपलब्ध गराउन माग गरिएको छ भने पुनर्निर्माण गर्ने निकायलाई प्रभावित क्षेत्रमा कार्यालय स्थापना गरेर कार्यप्रारम्भ गर्नका लागि सुनिश्चित गरिदिन माग गरिएको छ । त्यसै गरी पुनर्निर्माणका लागि आवश्यक बजेटको व्यवस्था एवं निकाशा, अस्थायी आवास निर्माणको बाँकी रकम भुक्तानी र पुनर्निर्माण कार्यलाई प्राधिकरणमार्फत एकीकृत रूपमा सम्पन्न गर्नका लागि आवश्यक निर्णय गरिदिन माग गरिएको छ । 

सांसदहरू जनार्दन शर्मा, चन्द्रबहादुर विश्वकर्मा, कल्पना मियाँ, कृष्णबहादुर रोकाय, मैना कार्की, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रदेश सभा सदस्य राजकुमार शर्मासहितको टोलीले सरकारसमक्ष पुर्निर्माणको माग राखेको हो । उक्त टोलीमा जाजरकोटको छेडागाड नगरपालिका प्रमुख रत्नबहादुर खड्का, जुनीचाँदे गाउँपालिका अध्यक्ष बेदबहादुर शाही, शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाह, रुकुमपश्चिमको चौरजहारी नगरपालिका प्रमुख पुष्प वादी, आठबिसकोट नगरपालिका प्रमुख रवि केसी, सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्ट, त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीलगायतका जनप्रतिनिधि पनि सहभागि हुनुभएको थियो ।