झापा, जेठ २७ गते । खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपालीको घरमा शुद्ध खानेपानी पुर्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल खानेपानी संस्थानमा यहाँको भद्रपुरस्थित पृथ्वीनगर खानेपानी आयोजनाको स्वामित्व हस्तान्तरण समारोहमा आज उहाँले चापाकल विस्थापित गर्दै डिप बोरिङमार्फत आमनागरिकलाई शुद्ध र स्वच्छ खानेपानी वितरण गर्ने योजना बनाइएको जानकारी दिनुभयो ।
मन्त्री यादवले स्वामित्व हस्तान्तरणसँगै भद्रपुरका जनतालाई छिट्टै शुद्ध खानेपानीको व्यवस्था मिलाउने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो । उहाँले देशभर सतप्रतिशत आधारभूत खानेपानी र ३७ प्रतिशत शुद्ध खानेपानीको पहुँच पुगेको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनै पनि आयोजना नरोकिने स्पष्ट पार्नुभयो ।
पृथ्वीनगर खानेपानी आयोजनाका सचिव पृथ्वीनारायण कार्कीले खानेपानीमा आइरनको मात्रा धेरै देखिएका कारण योजना दुई वर्ष सञ्चालनमा आएर विगत ३० वर्षदेखि बन्द रहेको बताउनुभयो । उहाँले खानेपानी संस्थानमा स्वामित्व हस्तान्तरण गरेसँगै यहाँका जनताले शुद्ध खानेपानी पाउने विश्वास व्यक्त गर्नुभयो ।
संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले आयोजनाबाट भद्रपुर नगरपालिका–१, २ र ३ का तीन हजार ५०० घरपरिवार लाभान्वित हुने जानकारी दिनुभयो । उहाँले मन्त्रालयको उद्देश्य एक घर एक धारामा शुद्ध खानेपानी पुर्याउने रहेकाले यसमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।