• ७ मंसिर २०८१, शुक्रबार

सोरठी जगेर्ना गर्दै युवा

blog

बिजुवार समाचारदाता 

बिजुवार, कात्तिक २७ गते । प्युठानका युवा सोरठी नृत्य जगेर्ना गर्ने अभियानमा जुटेका छन् । मौलिक पहिरनमा सजिएका ऐरावती–६, बैरिनीदमारको प्रगतीशील युवा समूहका कलाकारले सोरठी लयमा स्वर भर्दै गाउँ गाउँमा सोरठी जगाउने अभियान चलाएका हुन् । 

गुरुङ, मगरलगायत समुदायमा बढी लोकप्रिय सोरठी जोगाउन युवाले चासो देखाएका हुन् । आधुनिक नृत्यको प्रभाव र पुस्तान्तरण नहुँदा ग्रामीण क्षेत्रमा समेत यो नाच हराउने अवस्थामा पुगेपछि युवाले संरक्षण गरेका हुन् । पुर्सुगेँ बनेर नाचेका २० वर्षीय सरोज आचार्यले यो वर्षको तिहारमा पनि गाउँका युवा मिलेर सोरठी नाचेको बताउनुभयो । गाउँका अग्रजबाट आफूले सोरठी नाच्न सिकेको बताउँदै उहाँले भन्नुभयो, “रमाइलोसँगै पुरानो संस्कृति जोगाउन देउँसीभैलो खेलेका हौँ ।” यहाँ झन्डै डेढ दशकदेखि युवा मिलेर तिहारको लक्ष्मीपूजादेखि कात्तिके ठुलो एकादशीसम्म भैलो खेल्दै आएका छन् । 

प्युठान माझकोटका ७७ वर्षीय खगबहादुर पुन फुर्केथुम मारुनी नाच समूहका अगुवा (गुरुमुखे) हुनुहुन्छ । यो बुढ्यौलीमा पनि मारुनी नाच्न र गाउन उहाँले छोड्नुभएको छैन । जिल्लाका विभिन्न मेला, पर्व र सार्वजनिक उत्सवमा युवापुस्तालाई साथमा लिएर मारुनी नाच्न पुग्ने पुनले सांस्कृतिक नाचबाट युवापुस्ता टाढिँदै गएको गुनासो गर्नुभयो । वैदेशिक रोजगारी, विभिन्न पेसा व्यवसायका कारण युवा गाउँबाहिर हुँदा पछिल्लो समय लोकनाच सङ्कटमा परेको बताउँदै पुनले भन्नुभयो, “युवा जति सबै बाहिर छन्, केहीलाई साथमा लिएर सिकाउने र नचाउने गरेका छौँ ।”

सोरठी समूहमा नाच्ने गरिन्छ । समूहमा नाच्ने पुरुष मादलेले  दौरा–सुरुवाल, इस्टकोट, ढाकाटोपी र  मारुनीले चौबन्दी चोलो र फरिया लगाउने चलन रहेको मारुनीका जानकार लीला पुन सुनाउनुहुन्छ । कलाकारमा गाउने समूह, मादले, मारुनी, पुर्सुङ्गेआवश्यक पर्छ । पुरुष कलाकार पनि महिलाकै भेषमा मारुनी बनेर नाच्ने परम्परा छ । मगर समुदायमा विवाह, व्रतबन्धदेखि सार्वजनिक समारोह, मेला पर्व र उत्सवमा समेत सोरठी प्रस्तुत गरिन्छ । प्युठानमा ऐरावतीसँगै सरुमारानी, माण्डवी, मल्लरानीलगायतका क्षेत्रमा यो नाच नाचिन्छ ।