• ७ मंसिर २०८१, शुक्रबार

नियमित मोतीबिन्दु शल्यक्रियाले राहत

blog

बिशाल सुनार

दुल्लु, कात्तिक २६ गते । नेपाल रेडक्रस शाखा दैलेखले नियमित रूपमा २०४७ सालदेखि सामुदायिक आँखा उपचार केन्द्रमार्फत आँखा र कानको स्वास्थ्य उपचार सेवासँगै दैविक विपद् पछिको उद्धार र प्रतिकार्यको काम नियमित गर्दै आएको छ । थप सेवा विस्तार गर्ने क्रममा महिनाको अन्तिम शुक्रबार विशेषज्ञ डक्टर सहित मोतीबिन्दु शल्यक्रिया हुन थालेपछि सेवा प्रभावकारिता बढ्दै गएको छ । 

बढ्दो उमेरसँगै देखापर्ने मोतीबिन्दु समस्या बढ्दो छ । जिल्लाका ११ वटै पालिकाहरूमा गरिएको आँखा शिविरमा देखिएको समस्यालाई समाधान गर्न हरेक महिनाको एक पटक नियमित मोतीबिन्दु शल्यक्रिया शिविर नियमित गरिएको हो ।  

नेपाल रेडक्रस जिल्ला शाखा दैलेखले स्विस रेडक्रस र बिटीस रेडक्रस सोसाइटिको आर्थिक सहयोगमा आँखा अस्पताल सुर्खेतको प्राविधिक सहित विशेषज्ञ सेवामा हरेक महिनाको अन्तिम शुक्रबार मोतीबिन्दु शल्यक्रिया सेवा सञ्चालन गर्दै आएको छ ।  

उमेरले ७० वर्ष पार गरिसक्नुभएकी डुङ्गेश्वर गाउँपालिका ४ अवलपराजुलबाट मोतीबिन्दुको उपचार गराउन आउनुभएकी जैशरा जैसी भन्नुहुन्छ, “आँखा धमिलो देख्थे अहिले उज्यालो भयो, फेरी संसार देखियो ।” त्यस्तै लाँकुरीको उम गाउँबाट आउनुभएका मानसिंह खत्री भन्नुहुन्छ, “यत्ति कामको लागि सुर्खेत, नेपालगन्ज, लखनाउ जानुपथ्र्यौ अहिले घरमै उपचार भएको जस्तो लाग्यो, यत्ति भए के चाहियो ।” आर्थिकसँगै असहज र दुर्गमताकै आँखाको समस्या बोकेर उपचार गराउन नसक्ने गरिब तथा विपन्नहरूका लागि सुलभ मूल्यमै मोतीबिन्दु शल्यक्रिया सेवा वरदान साबित भएको छ । 

लगातार दैलेखमा शिविरमा सहभागी हुनुभएको नेत्ररोग विशेषज्ञ डक्टर मञ्जु पन्त भन्नुहुन्छ, “आँखाको समस्या हुनुको कारण एक छैन, पछिल्लो समय उच्च रक्तचाप,मधुमेह र खराब आनीबानीको कारण आँखाको समस्या बढ्दो छ, पछि बिचार गरौला भनेर व्यवस्था नगर्नुहोस् । ” सकिन्छ भने छ महिनाको अन्तरालमा आँखाको स्वास्थ्य जाँच गराइरहनु उचित हुने कुरा सुझाउनुभयो । 

गत वर्ष फागुन महिनादेखि रेडक्रसले जिल्लाका ११ वटा पालिकाहरूको समन्वयमा स्थानीय तहमै आँखा शिविरको आयोजना गरी कुल ७ सय जनाको शल्यक्रिया गर्ने गरी स्क्रिनिङ गरिएको थियो । छैटौँ पटकसम्म आइपुग्दा २ सया २४ जनाले शल्यक्रिया सेवा लिईसकोका छन् । 

प्रति एक जनाको शल्यक्रिया गर्दा करिब ६ हजार खर्च हुने गर्दछ । ११ वटै पालिकामा आवश्यक बजेट विनियोजनको लागि प्रस्ताव गरिएकोमा डुङ्गेश्वर र महावु गाउँपालिकाले मात्र १-१ लाख बजेट विनियोजन गरी सम्झौता गरेको छ । जस अनुसार महावु र डुङ्गेश्वरका नागरिकहरूले शल्यक्रिया गर्दा शुल्क तिर्नु पर्दैन भने अन्य पालिकाबाट सेवा लिनुपरेमा शुल्क तिर्नु पर्नेछ । 

शल्यक्रियामा कस्तो व्यवस्था भएको छ ? कति जनाले सेवा लिए, को को बाँकी छन् ? भन्ने कुरा बुझ्न आएको बताउनुहुने डुङ्गेश्वर गाउँपालिका उपाध्यक्ष कलावती न्यौपाने भन्नुहुन्छ, “आँखा सर्वस्व नै हो ,आँखा छ र संसार छ, हाम्रो ज्येष्ठ नागरिकहरूको लागि हामी सकेको गर्छौ ।” प्रति शल्यक्रिया गरे बाफत प्रति व्यक्ति पालिकाले करिब ६ हजार रुपियाँ खर्च व्यहोर्नु पर्ने छ । 

आँखा स्वास्थ्य समस्या दिन प्रतिदिन बढ्दो छ । तर सरकारी तवरबाटै आँखाको स्वास्थ्यको विषयमा मौन जस्तो छ । सरोकारवालाको कम चासोकै कारण आवश्यकता अनुसारको सुविधासम्पन्न संरचना नभए पनि आफ्नै जीर्ण भएको भवनलाई व्यवस्थित गरी शल्यक्रिया सेवा समेत बिस्तार गरेको हो । 

“हरेक पालिकामा ६० देखि एक सय जना सम्ममा मोतीबिन्दुको समस्या छ, तर पालिकालाई जिम्मेवारी बोध छैन ।” आवश्यक उपकरण पर्याप्त हुँदा पनि सुरक्षित र भरपर्दो भौतिक संरचनाको अभावमा थप सेवा विस्तार गर्न कठिन भएको सभापति निर्जन कुमार खत्रीले बताउनुभयो । “अहिले हामीले १२ वटा बेड सञ्चालनमा ल्याएको छौँ थप ८ बेड राख्न सक्ने सामग्री छ तर भवन अधुरै रहेकाले बिस्तार गर्न सकेको छैनौ,” खत्रीले भन्नुभयो ।