• २३ मंसिर २०८१, आइतबार

पहिरो रोक्न वृक्षरोपण

blog

गुणबहादुर रोका

सुलीकोट, कात्तिक २६ गते । गोरखाको सहिद लखन गाउँपालिकामा गत महिनाको असार र साउन महिनामा अत्यधिक मात्रामा परेको अविरल वर्षाले गाउँपालिकामा धेरै क्षति पुगेपछि गाउँपालिकाले सडक वरपर पहिरो रोक्न वृक्षरोपण गर्न थालेको छ । 

बाढी र पहिरोले उजाडिएको सडक छेउछाउका पाखा पखेरालाई हरियाली बनाउने तथा गाउँबस्तीको नजिकै पहिरो रोक्न गाउँपालिकाले वृक्षरोपण गर्न थालेको हो । 

गाउँपालिकाले आइतबारबाट पहिलो चरणमा सडक क्षेत्रमा पहिरोको जोखिम घटाउन बायो इन्जिनियरिङ प्रविधिमार्फत वृक्षरोपण गरिएको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार सडक छेउछाउमा न्यायपिपर, सेटारिया, अमिस्रो जस्ता बिरुवा रोपेर आगामी वर्षमा पहिरो नियन्त्रणको प्रयास गरिएको उहाँले बताउनुभयो । यो वर्ष सहिद लखन गाउँपालिकाको नाम्जुङदेखि गाउँपालिकाको कार्यालय घैरुङ सम्मको सडक छेउछाउमा बिरुवा रोप्न गाउँपालिकाले बजेट समेत छुट्टाएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाभित्र विपद् जोखिम क्षेत्र पहिचान गरी गाउँपालिकाले उक्त क्षेत्रमा अन्य बिरुवा पनि रोप्ने तयारी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले बताउनुभयो । गत महिनाको असार साउनमा ११ वटै पालिकाहरूभन्दा सबैभन्दा बढी क्षति सहिद लखन गाउँपालिकामा बाढी पहिरोको क्षति व्यहोर्नु परेकाले पनि गाउँभाबाट बजेट विनियोजन गरी वृक्षरोपण गर्ने कार्यक्रम अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत मगरको भनाइ छ । 

उक्त वृक्षरोपण कार्यक्रमले बाढी पहिरोबाट सहिद लखन गाउँपालिकामा कम क्षति हुने विश्वास समेत गरिएको छ । गाउँपालिकाले डिभिजन वन कार्यालय गोरखासँग समन्वय गरी काष्ठ जन्य बिरुवाहरू चाँप, खयर, सिसौ, टिक, मसला, डालेघाँसका बिरुवाहरू बकाईनो, किम्बु, टाँकी, इपिल, कोइरालो,राईखन्यु, पाखुरी, निमारो, सौन्दईबद्र्धक बिरुवा कपुर, धुपी, पारिजात, बिरेन्द्रफुल, अशोक र फलफूलका बिरुवाहरू अम्बा, निबुवा, लप्सी, किम्बु, अमला तथा जडीबुटी जन्य बिरुवाहरू टिमुर तेजपात, सितलचिनी, राजवृक्ष, कुरीलो, चिउरी, सर्पगन्ध, पारिजात, बेल र निम लगायतका बिरुवा पनि डिभिजन वन कार्यालयसँग माग समेत गरेको छ ।

धेरै जसो सडक छेउछाउमा ओसिलो भएकाले पनि यो वर्षा पानीको अभाव नहुने भएकाले पनि तिहार सकिए लगत्तै वृक्षरोपण गर्न सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।