• १९ पुस २०८१, शुक्रबार

बागलुङ जिप दुर्घटना : मृतक पाँचैजना एउटै गाउँका

blog

घाइतेलाई उद्धार गरी उपचार लागि अस्पताल लगिँदै ।

ठाकुरप्रसाद आचार्य

बागलुङ, कात्तिक २६ गते । आज बिहान बागलुङको जैमिनी नगरपालिका –७ हर्देवामा भएको जिप दुर्घटनामा परेर मृत्यु हुनेहरु एउटै गाउँका छन् । दुर्घटनाका मृतक ५ जनाको सनाखत भएको छ । 

जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाका अनुसार मृत्यु हुनेमा जिप चालक बागलुङ जैमिनी –८ छिस्ती केवइका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षीय कुलप्रसाद श्रीष छन् । 

मृतक सबैजना एउटै गाउँका भएको घटनास्थलमा हुनुभएका जैमिनी नगरपालिका –१ का वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘एउटै गाउँका दुर्घटनामा परेर मृत्यु भएको खबरले गाउँवासी शोकमा डुबेका छन् । घटनास्थलमा सडक पनि सहज छ । कसरी दुर्घटना हुन गयो अचम्म लागेको छ ।’’ 

जैमिनी नगरपालिका –८ छिस्तीबाट आज बिहान सदरमुकाम बागलुङ बजार जाँदै गरेको ग २ च ९२४७ नम्बरको पिकअप भ्यान आज बिहान दुर्घटना भएको थियो । दुर्घटनामा ४५ वर्षीय गङ्गाबहादुर श्रीष घाइते भएको र उहाँलाई उद्धार गरेर उपचारका लागि धौलागिरि अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

जिप सडकदेखि करिब ७ सय मिटर तल खसेको वडाध्यक्ष आचार्यले बताउनुभयो । दुर्घटनाको सूचना पाएलगत्तै स्थानीयवासीहरु उद्धारमा जुटेका थिए ।