• ७ मंसिर २०८१, शुक्रबार

शौचालयमा शिशु जन्माएर फरार महिला पक्राउ

blog

महिलाले बच्चा जन्माएर फरार भएपछि अस्पतालमा जम्मा भएको भीड । तस्विरः लीलाराज खड्का

लीलाराज खड्का

बिर्तामोड, कात्तिक २६ गते । झापाको हल्दिबारी –१ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा शिशु जन्माएर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ  ।

सीसीटीभी फुटेजका आधारमा ती महिलाको पहिचान गरिएको हो । उनी बिर्तामोड –१० की भएको बताइएको छ । मृत शिशुको पोस्टमार्टम भ नसकेकाले ती महिलालाई प्रहरीले निगरानीमा राखेको छ । 

पोस्टमार्टम रिपोर्ट आइसकेपछि उनीमाथि कार्वाही गर्ने जनाइएको छ । सीसीटीभी फुटेजमा एकजना महिला सिटी रिक्सामा आएको र क्लिनिकको बेन्चमा बसेको देखिएको छ । शनिवार  दिउँसो २ः३० बजेतिर क्लिनिकको शौचालयमा मृत शिशु फेला परेको थियो । 

ती महिला पेट दुखेर अस्पतालमा आएको र शौचालयभित्र शिशु जन्माएर फरार भएको पाइएको प्रहरीले जनाएको छ । ती महिलाको श्रीमान वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको पाइएको छ । 

महिला तथा बालबाकासम्बन्धी कुरा भएकाले हाललाई पक्राउ परेकी महिलाको नाम नखुलाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दले बताउनुभयो । यो वैदेशिक रोजगारीका कारण समाजमा बढेको विकृतिकै एउटा रुप हो प्रहरी प्रवक्ता चन्दले भन्नुभयो ।