• १९ पुस २०८१, शुक्रबार

हेटौँडामा दुई दिने बजार प्रदर्शनी मेला हुँदै

blog

फाइल तस्विर

राममणि दाहाल

हेटौँडा, कात्तिक २६ गते । हेटौँडामा दुई दिने सामुदायिक वन उपभोक्ता समूह र साना तथा मझौला उद्योग बजार प्रदर्शनी मेला हुनेभएको छ । संयुक्त राष्ट्र विकास कार्यक्रम र एलोई प्रालिको साझेदारीमा सामुदायिक वन उपभोक्ता समूह र स्थानीय साना तथा मझौला उद्यम बजार मेला कात्तिक २९ र ३० गते हेटौँडामा हुनेभएको हो । 

वन समुदाय साथै घरेलु उत्पादनलाई सशक्त बनाउन र दिगो आर्थिक विकासलाई प्रवर्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागेको प्रालिका सञ्चालन प्रवन्धक मलिना महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेलामा २५ वटा स्टल रहने र ती सबै स्टलहरु बुकिङ भइसकेका छन् । मेलामा स्टल राख्ने र अवलोकनकर्तालाई निःशुल्क व्यवस्था गरिएको छ । हस्तकला सामग्री, स्थानीय उत्पादन, खाद्य स्टल र विभिन्न कृषिसम्बन्धी उत्पादन, डेरी उत्पादन र उपकरणहरु प्रदर्शनीका लागि राखिने भएको छ । 

सामुदायिक वन उपभोक्ता समूह र लघु उद्यमीलाई प्रोत्साहन र उनीहरुको उत्पादनको बजारीकरणमा सहयोग गर्ने उद्देश्यसहित प्रदर्शनी मेला आयोजना गरिएको मानन्धरले बताउनुभयो । 

मेलाबाट सहभागीको सम्बन्ध सुधार र नेटवर्किङ, जीविका सुधार, पृष्ठपोषण प्राप्त गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ । सामुदायिक वन उपभोक्ता समूह उद्यम बजार मेला, नयाँ नयाँ सम्भावना पहिचान, बजारीकरण, सामुदायिक वन उपभोक्ता समूहका व्यवसाय क्षमतालाई सुदृढ र उद्यमशीलतालाई प्रोत्साहन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।