• ८ मंसिर २०८१, शनिबार

पाउँदुरे नाचको जगेर्ना गरिँदै

blog

अमरराज नहर्की

तनहुँ, कात्तिक २६ गते ।  व्यास नगरपालिकास्थित तमु सुधार समाजले पाउँदुरे नाचको जगेर्ना गर्न थालेको छ । गुरुङ समुदायको प्रसिद्ध पाउँदुरे नाच लोप हुँदै गएपछि यसको संरक्षणका लागि गुरुङ समुदायका अगुवाहरू जुट्न थालेका हुन् ।

पुरानो पुस्ता सकिँदै जाँदा लोप हुँदै गएकाले यसलाई जगेर्ना गर्न पाका पुस्ताको अगुवाइमा पाउँदुरे नाच देखाउने र युवाहरूलाई सिकाउने गरेको समाजका अध्यक्ष मनबहादुर गुरुङले बताउनुभयो ।  सदियौँ पुरानो सांस्कृतिक नाच भए पनि पछिल्लो पुस्ताको चासो नहुँदा यो नाच नै लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण गर्न समुदायका अगुवाहरु नै लागेको गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सामान्यतया पाउँदुरे नाच्न तीन जना चाहिन्छ। दुई जना मारुनी अनिवार्य हो ।  केटा मान्छेलाई मारुनी बनाउँदा केटी मान्छेले लगाउने लुगामा सिंगार्नुपर्छ ।

एउटा समूहमा कम्तीमा दुई जना मादल बजाउन जान्ने मान्छे अनिवार्य चाहिन्छ भने गीत गाउन त जति भए पनि हुन्छ ।  । पाउँदुरे नाच्दै आउनुभएका टेकप्रसाद गुरुङ गुरुङ समुदायको निकै पुरानो नाच हो ।  उहाँले भन्नुभयो, ‘हामी पाका पुस्ताले यसलाई आजसम्म संरक्षण गरेका छौँ, हाम्रा छोरा नातिले गर्छन्, गर्दैनन्, सिकाउन भने थालेका छौँ।’ पछिल्लो पुस्ताले पनि नाचमा चासो भने राख्न थालेको उहाँको भनाइ छ।

‘हाम्रो पहिचान र परम्परा बिर्सन हुँदैन भनेका छौँ ।’ गुरुङले थप्नुभयो । पाउदुरे नाचमा प्रस्तुत हुने गीतमा चारे दिशाका देवीदेवतालाई पुज्ने गरेको उहाँले जानकारी दिनुभयो।  विभिन्न देवीदेवतालाई पुजेर टुक्का बनाउँदै गीत भनिने उहाँले जानकारी दिनुभयो ।

समाजमा आबद्ध ओमबहादुर गुरुङ, टेकप्रसाद गुरुङ र इन्द्रध्वज गुरुङले मारुनी बनेर पाउँदुरे नाच्ने गर्नुभएको छ । पाउँदुरे नाचका लागि ख्यामबहादुर गुरुङ र चामबहादुर गुरुङले गुरुबाको भूमिका निर्वाह गर्दै आउनुभएको छ । त्यस्तै हीरालाल गुरुङ, ओमराज गुरुङले मादलेको भूमिका निर्वाह गर्नुहुन्छ ।

तमु विद्यार्थी छोंज धिंको शनिवारदेखि दमौलीमा सुरु भएको बाह्रौँ महाधिवेशन उद्घाटन समारोहमा यस समूहले पाउँदुरे नाच प्रस्तुत गरेको थियो ।  ओमबहादुरका अनुसार पाउदुरे नाचमा बीजबारे, मारुनी, मादले, गुरुलगायत व्यक्ति आवश्यक पर्दछ । यो नाच पुरुषले गुन्यू चोली र गरगहना लगाएर महिला जस्तै बनेर नाच्ने प्रचलन छ । छेउमा नाच्ने दुई पुरुषलाई मारुनी र बिचमा नाच्नेलाई बीजबारे भनिन्छ । नाचका क्रममा बिजबारेको भावभङ्गी समातेर मारुनीले आफूलाई प्रस्तुत गर्नुपर्ने गुरुङ समुदायका अगुवा बताउँछन् । गीत गाउने मुख्य व्यक्तिलाई गुरुबा भनिन्छ ।

गुरुबाले गीत गाउने र लहरै बसेका तीन जना मादले लगायत अन्यले पनि गीतलाई छोप्दै लय मिलाउने गर्दछन् । गाउँमा हुने शुभ कार्य पूजा, व्रतबन्ध तथा सार्वजनिक कार्यक्रममा प्रस्तुत गर्दै आएको समाजले जनाएको छ । समाजका अनुसार शुभ कार्य र गाउँमा हुने कार्यक्रममा उक्त नाच प्रस्तुत गरेबापत गच्छेअनुसार दक्षिणा दिने चलन छ ।