• १९ पुस २०८१, शुक्रबार

सडकखण्ड निर्माण गर्न ठेक्का सम्झौता

blog

विद्यापुर–बल्दे सडकखण्डमा निर्माणको काम गरिँदै । तस्बिर : रजनी योगी

बुलबुले समाचारदाता

सुर्खेत, कात्तिक २६ गते । मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतका दुई खण्डमा नयाँ ठेक्का सम्झौता गरिएको छ । चौकुने गाउँपालिका–३, बल्देदेखि वडा नं. २ को लगामसम्म र पञ्चपुरी नगरपालिका–३, चौरदेखि वडा नं. ९ को विद्यापुरसम्म ठेक्का सम्झौता गरिएको हो ।

दुई खण्डमा गरी २५ किलोमिटर सडक निर्माण गरिने मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले जनाएको छ । दुई खण्डलाई एउटै प्याकेज गरी सडक निर्माण गर्न लागिएको हो । यस अन्तर्गत बल्देदेखि लगामसम्म १५ किलोमिटर र चौरदेखि विद्यापुरसम्म १० किलोमिटर सडक निर्माण गरिने छ । ठेक्का सम्झौता भई सडक निर्माणको काम अघि बढेको राजमार्ग योजना कार्यालयका इन्जिनियर रेशम ओलीले बताउनुभयो । उहाँका अनुसार दुई खण्डको कामलाई एउटै प्याकेजमा गरी सडक निर्माण गर्न लागिएको हो ।

विसं २०८१ भदौ १४ देखि २०८४ भदौ १४ सम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । एक अर्ब २६ करोड लागतमा २५ किलोमिटर सडक निर्माणको सम्झौता गरिएको हो । यो आयोजना अघि बढेसँगै पश्चिमका तिनै खण्डमा काम सुरु भएको छ । यसअघि बड्डीचौर–खम्बागाडे र विद्यापुर–बल्दे सडकखण्ड निर्माणको काम अघि बढाइएको थियो । ४५ किलोमिटरको सडकलाई तीन खण्डमा विभाजन गरेर निर्माण थालिएको छ । 

अहिले तिनै खण्डको काम सुरु भएको हो । विद्यापुर–बल्दे सडकखण्डमा निर्माणको काम धमाधम भइरहेको छ । पश्चिम क्षेत्रका तीन खण्डमध्ये यो तेस्रो खण्ड हो । २२ किलोमिटर सडकखण्ड निर्माणका लागि एक अर्ब २१ करोड रुपियाँमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको छ । सम्झौता अनुसार २०७९ फागुन १७ देखि सुरु भएको काम २०८२ फागुन १६ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने छ । उक्त खण्डको भौतिक प्रगति ५५ प्रतिशत हासिल भएको छ भने वित्तीय प्रगति ५२ प्रतिशत भएको छ । 

राजमार्गको जङ्गल क्षेत्रमा पर्ने रुख कटानको काम पनि सकिएको भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले जनाएको छ । यो सडकखण्डमा आधाभन्दा बढी जङ्गल क्षेत्र परेको कार्यालयका इन्जिनियर ओलीले बताउनुभयो । सडक आयोजना अन्तर्गत निर्माणका काम धमाधम भइरहेको छ । मदन भण्डारी राजमार्ग अन्तर्गतकै बड्डीचौर–खम्बागाडे सडकखण्डको काम भने सुस्त गतिमा भइरहेको छ । हालसम्म २१ प्रतिशत भौतिक प्रगति भएको छ । वित्तीय प्रगति २० प्रतिशत भएको छ । उक्त सडकखण्डको साढे १२ किलोमिटरमा सडक निर्माणको काम भइरहेको हो । यो सडकखण्डका लागि प्रदेश सरकारले ४२ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । 

विसं २०७९ देखि काम सुरु भएको उक्त खण्डमा २०८१ असार १५ सम्म काम सम्पन्न गर्नुपर्ने भए पनि काम अझै अधुरै छ । अहिले म्याद थप गरिएको छ । २०८२ असार १२ सम्मका लागि म्याद थपिएको छ । उक्त खण्डमा अहिले निर्माणको काम ठप्प छ । रुख कटानको आदेश नहुँदा उक्त खण्डमा काम हुन नसकेको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले जनाएको छ । अबको केही दिनमा निर्माणको काम सुरु गरिने कार्यालयका सूचना अधिकारी वीरेन्द्रजङ्ग शाहीले बताउनुभयो ।