• १९ पुस २०८१, शुक्रबार

स्थानीय सरकारको आय बन्न सकेन घोडाघोडीको आम्दानी

blog

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), कात्तिक २६ गते । जैविक विविधता तथा पर्यटकीय क्षेत्र घोडाघोडी तालमा अचेल आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । यहाँ आउने पर्यटकले होटेल, डुङ्गा, पोसाक, क्यामरा भाडामा लगेर दैनिक हजारौँ रुपियाँ खर्चिने गरेको पाइन्छ तर यहाँको आम्दानीलाई स्थानीय सरकारको आम्दानी भने बनाउन सकिएको छैन । घोडाघोडी ताल क्षेत्रमा घुम्न आउने पर्यटकको प्रवेश शुल्क घोडाघोडी संरक्षण तथा जनजागरण मञ्च नामक गैरसकारी संस्थाले लिने गरेको छ । 

प्रतिव्यक्ति १० रुपियाँ प्रवेश शुल्क रहेको जनाउने टिकट काउन्टरका कर्मचारी दीपक शाहले पाँच सयदेखि दुई हजारको सङ्ख्यामा पर्यटक दैनिक घुम्न आउने गरेका जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तिहारपछि घुम्न आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।”

मञ्चले प्रवेश शुल्कबाट उठाएको रकम तीन/चार वर्षदेखि सार्वजनिक नगरेको स्थानीयको आरोप छ । एक स्थानीयले भने, “मञ्चले अहिलेसम्म टिकटबाट उठेको पैसा सार्वजनिक गरेको छैन । देखिने गरेर विकासको काममा पनि लगाएको छैन । टिकट काट्न बसेका कर्मचारीले समूहमा आउने ५०/६० जना पर्यटकको पैसा पूरै लिने टिकट कम दिएर व्यक्तिगत कमाइ धन्दा गरेका छन् ।” सार्वजनिक सम्पत्ति केही मानिसको कमाइ खाने भाँडो भएको भन्दै उहाँले यसको नियमन कसले गर्ने भन्दै प्रश्न गर्नुभयो ।

घोडाघोडीमा स्थानीयले विभिन्न जातजातिका पोसाक भाडामा दिएर तथा तस्बिर खिचेर पनि राम्रै आम्दानी गरेका छन् । अहिले तस्बिर खिच्न ३२ वटा क्यामरा प्रयोग हुने गरेका छन् भने सात वटा पोसाक भाडामा दिने पसल छन् । यसबाट घोडाघोडीमा धेरै कमाइ हुने सर्वसाधारणको बुझाइ छ ।

व्यावसायिक प्रयोजनका लागि तस्बिर खिच्नेहरूले न कुनै ठाउँबाट अनुमति लिएका छन् न त दर्ता नै गरेका छन् । तस्बिर खिच्ने एक व्यक्तिले दैनिक एक हजारदेखि पाँच हजार रुपियाँसम्म आम्दानी गर्ने गरेका उनीहरू बताउँछन् । त्यो आम्दानीबापतको न कर तिर्नु पर्छ न त अन्य कुनै काममा खर्च हुन्छ । बेला बेला तिनै फोटोग्राफर तस्बिर खिच्ने होडबाजीमा लड्ने गरेका र पर्यटकलाई दुव्र्यवहार गरेपछि प्रहरीको कारबाहीमा पर्ने गरेका छन् । 

घोडाघोडीको आम्दानी सम्झौताबमोजिम नगरपालिकालाई बुझाउने कार्य इकोटेल रिसोर्टले गरेको छ । रिसोर्टका सञ्चालक तथा पर्यटन व्यवसायी डबल शाहले २०७५ सालमा नगरपालिका, घोडाघोडी सामुदायिक वन र रिसोर्टबिच त्रिपक्षीय सम्झौता गरेर आफूले घोडाघोडीमा व्यवसाय सुरु गरेको बताउनुभयो । उहाँले ओझुवा र पूर्वी ओझुवा तालमा डुङ्गा सञ्चालन, माछापालन र रिसोर्ट सञ्चालनका लागि वार्षिक आम्दानीमध्ये २५ प्रतिशत नगरपालिका, १५ प्रतिशत सामुदायिक वन र ६० प्रतिशत लगानीकर्ताको हुने गरी १५ वर्षका लागि ठेक्का सम्झौता भएको जानकारी दिनुभयो ।

दुई वर्ष कोरोनाकालमा खासै नचले पनि अहिले पर्यटकको आगमन बढ्न थालेपछि आम्दानी राम्रै भएको शाह बताउनुहुन्छ । उहाँले पाँच वर्षमा डुङ्गा सयरको टिकट बिक्रीबाट ३० लाख रुपियाँ आम्दानी गरेको बताउनुभयो । साथै नगरपालिकालाई हालसम्म पाँच लाख रकम सम्झौता अनुसार बुझाएको जानकारी उहाँले दिनुभयो । 

घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले घोडाघोडीको समग्र आम्दानीलाई करको दायराभित्र ल्याउन नीति आवश्यक रहेको जानकारी दिँदै त्यसका लागि कार्यदल गठन गरेको बताउनुभयो । उहाँले नगरपालिकाको आर्थिक समितिका संयोजक विजयराज स्वाँरको अध्यक्षतामा बनेको कार्यदलले घोडाघोडीको आम्दानी व्यवस्थित गर्न अध्ययन अनुसन्धान गरेपछि शीघ्र नीति बनाएर काम गर्ने उल्लेख गर्नुभयो ।