• ७ मंसिर २०८१, शुक्रबार

आँधीखोला कोरिडोर निर्माणले गति लिँदै

blog

आँधीखोला कोरिडोर अन्तर्गत वडा नं. ८ मा सडक व्यवस्थित गरिँदै । तस्बिर : राधाकृष्ण डुम्रे

वालिङ समाचारदाता 

वालिङ, कात्तिक २५ गते ।  स्याङजाको वालिङ नगरपालिकाले आँधीखोलाको दायाँबायाँ कोरिडोर निर्माणलाई तीव्र बनाएको छ । नगरपालिकाले आफ्नो गौरवको योजनाका रूपमा अघि सारेको आँधीखोला कोरिडोर निर्माण तथा कालोपत्रेको कामलाई तीव्र बनाएको हो । 

नगरपालिकाभित्र झन्डै आठ किलोमिटर लम्बाइ रहेको आँधीखोलाको दायाँबायाँ दुवैतर्फबाट कोरिडोर डोरेटो तयार भइरहेको छ । केही भाग बाँकी रहे पनि अधिकांश भागमा सडकको डोरेटो तयार भएको नगरप्रमुख कृष्ण खाणले बताउनुभयो । दुवै डोरेटो निर्माणसँगै नाली तथा कालोपत्रे गर्ने काम सुरु भएको उहाँको भनाइ छ ।

कोरिडोरको झन्डै १६ किलोमिटर सडक निर्माण गर्ने पालिकाको योजना छ । चौडाइ भने सात मिटर कायम गरिएको वालिङ नगरपालिकाका इन्जिनियर ध्रुव रेग्मीले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा ३५० मिटर कालोपत्रे हुने छ । सङ्घीय सरकार र पालिकाको समान लागत साझेदारीका आधारमा सडक कालोपत्रे गर्न लागिएको हो । दुई करोड ९० लाख रुपियाँबाट काम सुरु भएको इन्जिनियर रेग्मीको भनाइ छ । सिद्धार्थ राजमार्ग तथा अन्य भित्री सडकको विकल्पका रूपमा ‘आँधीखोला कोरिडोर’ लाई हेरिएको छ । यो सडक निर्माणपछि पर्यावरणीय संरक्षणसँगै वालिङको स्वरूप फेरिने नगरपालिकाले जनाएको छ । 

आँधीखोला कोरिडोरलाई वालिङ नगरपालिकाको गौरवको योजनाका रूपमा लिएको उपप्रमुख कविता तिवारी गैरेले बताउनुभयो । कोरिडोर निर्माणले बर्सेनि आँधीखोलाले दायाँबायाँको जमिन कटान गरेर लैजाने व्रmम घट्ने उहाँको भनाइ छ । आँधीखोलाको दुवैतर्फ तटबन्ध तथा पर्खाल लगाउने कामसमेत भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केही वर्षअगाडिसम्म आँधीखोलामा पानीको सतह बढ्नासाथ कटानसँगै पानी खोलाबाहिर आउने गर्दथ्यो तर यस वर्ष असारमा ठुलो पानी पर्दा पनि आँधीखोलाले ठुलो क्षति पु¥याएको छैन ।” कोरिडोर निर्माण र तटबन्धले राम्रो काम गरेको उहाँको भनाइ छ । 

उत्तरमा भिरकोट नगरपालिकाको सिमानादेखि दक्षिणमा गल्याङ नगरपालिकाको सिमानासम्म वालिङ नगरपालिकाले आँधीखोला कोरिडोर निर्माणको काम गरिरहेको हो । नगरपालिकाले सिद्धार्थ राजमार्ग चौडा बनाउने व्रmममा खनेको माटो तथा ढुङ्गा खोलाको किनारमा व्यवस्थापन गर्दै कोरिडोर निर्माण गरेको थियो । खोलाको बहाबलाई ध्यानमा राखी झन्डै एक सय मिटर चौडाइमा पानी बहने भाग छोडी दुवैतर्फ किनारमा जाली उठाएर निर्माण गरिएको हो । नगरपालिकाका वडा नं. १, ६, ८, ९ र १० का अधिकांश स्थानमा तटबन्धसँगै कोरिडोर निर्माण भएको छ । 

कोरिडोर निर्माणसँगै आँधीखोलाका ठाउँ ठाउँमा ‘चेक ड्याम’ निर्माण गरी ताल बनाउने र डुङ्गा सञ्चालन तथा माछापालन गर्ने नगरपालिकाको दीर्घकालीन योजना रहेको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । स्मार्ट सिटीका रूपमा अगाडि बढेको नगरपालिकाले आँधीखोलालाई पर्यटनको राम्रो आधारका रूपमा विकास गर्ने योजना अनुसार काम गर्दै आएको सुवेदीको भनाइ छ ।