• ७ मंसिर २०८१, शुक्रबार

प्रदेश शिक्षा नीति चाँडै बनाउँछौँ : मुख्यमन्त्री कार्की

blog

मुख्यमन्त्री हिक्मतकुमार कार्की दमकमा आयोजना गरिएको नेपाल अंग्रेजी भाषा शिक्षक संघको कोशी प्रदेश सम्मेलन र विचार गोष्ठीलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : बिष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल
दमक, कात्तिक २४ गते  । 
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षा क्षेत्र सुधारका लागि प्रदेश सरकारको भूमिकाको विषयमा संविधानमा उल्लेख नभए पनि आफूहरूले सुधारका लागि गर्न सक्ने काम अघि बढाउने बताउनुभएको छ ।

माध्यमिक तहसम्म स्थानीय सरकार र त्योभन्दा माथि सङ्घीय सरकारको दायित्व रहेको उल्लेख भएको भएता पनि आफूहरूले समेत प्रदेश शिक्षा नीति बनाएर शिक्षा क्षेत्रको सुधारका लागि अघि बढ्ने बताउँदै उहाँले यस्तो बताउनु भएको हो ।

झापाको दमकमा नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) को कोशी प्रदेश सम्मेलन तथा विचार गोष्ठीको शनिबार उद्घाटन गर्दै मन्त्री कार्कीले प्रदेश शिक्षा नीति बनाउनका लागि आवश्यक काम सुरु भइसकेको जानकारी दिनुभयो । आगामी वर्षसम्म प्रदेश शिक्षा नीति बनाउने कसरतमा लागेका छौँ, उहाँले भन्नुभयो ।

छोटो दूरीमा रहेका र कम विद्यार्थी सङ्ख्या भएका सामुदायिक विद्यालयहरूको एकीकरण गर्न आवश्यक रहेकाले यसलाई प्रोत्साहन गर्ने गरी प्रदेश सरकारले आवश्यक नीति र कार्यक्रम ल्याउने उहाँले उल्लेख गर्नुभयो । स्थानीय सरकारसँग समन्वय गरेर नै काम गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

यस्ता विद्यालयहरूलाई भौतिक सुधार र जनशक्तिका लागि प्रदेश सरकारले सहयोग गर्ने उहाँले जनाउनुभयो । प्रतिस्पर्धी रूपमा शिक्षालाई समयानुकूल रूपमा अघि बढाउन सबैको दायित्व भएकाले यस दायित्वबाट प्रदेश सरकार विमुख नहुने उहाँको भनाइ थियो । सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई प्रतिस्पर्धी बनाउन त्यसै अनुसारको शिक्षा आवश्यक रहेकोमा उहाँको जोड थियो ।

विशेष गरेर प्रदेश सकारकारले पहाडी र हिमाली क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूको शिक्षाको गुणस्तर वृद्धिका लागि आवश्यक कार्यक्रम ल्याउने तयारी गरिरहेको पनि उहाँले बताउनुभयो । तराई तथा सुगम क्षेत्रमाभन्दा पहाडी र हिमाली क्षेत्रमा ध्यान धेरै दिन आवश्यक देखेको छु, उहाँले भन्नुभयो ।

शैक्षिक क्षेत्रका राष्ट्रिय अन्तर्राष्ट्रिय विषय विज्ञहरूबिच विश्व भाषाका रूपमा रहेको अङ्ग्रेजी विषयमा गहन रूपमा बहस र अन्तरक्रियासहितको यस किसिमको गोष्ठी झापामा पहिलो पटक आयोजना गरिएको नेल्टा कोशी प्रदेश समितिका अध्यक्ष गुणराज नेपालले बताउनुभयो ।

कार्यक्रममा नेल्टाका पूर्व राष्ट्रिय अध्यक्ष एवम् प्राध्यापक डा. गोविन्दराज भट्टराई, काठमाडौँ विश्व विद्यालय शिक्षा सङ्कायका डिन प्रा.डा. बालचन्द्र लुइँटेल, नेल्टाका केन्द्रीय अध्यक्ष प्रा.डा लक्ष्मण ज्ञवाली, अमेरिकी दूतावासको क्षेत्रीय अङ्ग्रेजी भाषा विभाग प्रमुख रोजर अफ कोहेन लगायतको उपस्थिति रहेको छ ।