• ७ मंसिर २०८१, शुक्रबार

जनकपुरधाममा विवाह पञ्चमी महोत्सवको तयारी

blog

फाइल तस्बिर

धनुषा, कात्तिक २४ गते । रामजानकी विवाह पञ्चमी महोत्सवमा यसपटक अयोध्याबाट जन्ती आउने भएको छ । पाँच सयभन्दा बढीको सङ्ख्यामा आउने सो जन्तीको स्वागत लगायतको तयारी पनि जनकपुरधाममा सुरु भइसकेको छ ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले विवाह पञ्चमी महोत्सव तयारीका क्रममा जानकी मन्दिरमा सर्वपक्षीय बैठक गरिएको जानकारी दिनुभयो । विश्व हिन्दु परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री राजेन्द्र सिंह पङ्कज, रामजन्म भूमि तीर्थ क्षेत्र ट्रष्टका चम्पत राय लगायतका व्यक्ति जन्तीमा सहभागी भएर आउन लागेको महन्थ दासले बताउनुभयो ।

विवाह पञ्चमी महोत्सवमा जन्ती आउन अयोध्याका सन्तमहन्तलाई आमन्त्रण गर्न आगामी मङ्सिर १ गते जानकी मन्दिरबाट तिलक लगिने भएको छ । हरेक पाँच वर्षमा सीताराम विवाह महोत्सवको अवसरमा अयोध्याबाट जन्ती आउने गरेको छ । मिथिलामा जन्ती आउनुभन्दा अगावै बेहुलालाई तिलक चढाउने चलन छ । त्यस परम्परालाई निर्वाह गर्दै जानकी मन्दिरले अयोध्या तिलक पठाउने तयारी गरेको महन्थ दासले जानकारी दिनुभयो ।

विवाह महोत्सवमा जन्तीको निम्तोका लागि तिलक लिएर जान मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह इच्छुक देखिनुभएको छ । यद्यपि मुख्यमन्त्री सिंहले तिलकमा अयोध्या जाने विषयमा निर्णय भइनसकेको बताउनुभयो । उहाँले तिलकको अगुवाइ गर्न आफूलाई  आग्रह गरिएको भए पनि त्यस सम्बन्धमा भारतीय पक्षबाट औपचारिकता पूरा भएपछि निर्णय लिने बताउनुभयो । आगामी दुई/तीन दिनभित्रै यस सम्बन्धमा निर्णय लिने मुख्यमन्त्री सिंहले जनाउनुभयो ।

हालसम्मको तयारीअनुसार जानकी मन्दिरले पठाउने तिलकको नेतृत्व उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले गर्नुहुनेछ । तिलकमा दाससँगै विभिन्न मठमन्दिरका साधुसन्त, सामाजिक र धार्मिक क्षेत्रमा सक्रिय स्थानीय बासिन्दाको सहभागिता रहने बताइएको छ । तिलकका लागि अयोध्याबाट विश्व हिन्दु परिषद्का प्रतिनिधिले तिलकका सहभागीको स्वागत सम्मान गर्ने कार्यक्रम रहेको छ । जानकी मन्दिरबाट जन्ती ल्याउन आमन्त्रण ठाकुर (हजाम) द्वारा निम्तो पठाइएको जानकी मन्दिरका महन्त दास वैष्णवले बताउनुभयो ।

अयोध्याबाट जन्तीको अगुवाइ राम मन्दिर ट्रष्टका सचिव सम्पत्त रायले गर्ने बताइएको छ । जन्तीमा मनिराम छाउनीका उत्तराधिकारी महन्त कमलनयन दास, ऋषिकेषका महन्त डा रामेश्वर दास, दिगम्बर अखाडाका महन्त, सतुवा बाबाको आश्रमका मुख्य महन्तलगायत ५०० बढीको सहभागिता रहने बताइएको छ ।

मङ्सिर २१ गते सीताराम विवाह महोत्सवको मूल समारोह हुनेछ । त्यसमा अयोध्याबाट आउने जन्तीको सहभागिता रहनेछ । अयोध्याबाट प्रस्थान गर्ने जन्तीको मार्ग, समय र रात्रि विश्रामस्थल निर्धारण गरिएको छ । अयोध्याबाट मङ्सिर ११ गते जन्ती प्रस्थान गर्नेछ । कारसेवकपुरम अयोध्याधामबाट बिहान ८ः३० बजे प्रस्थान गर्ने जन्ती गुसाइकुञ्ज, अम्बेडकर नगर, बसखारी हुँदै रात्रि विश्राम आर्यमगढ (आजमगढ)मा हुनेछ ।

दोस्रो दिन जन्ती आर्यमगढबाट मऊ, रसडा, फैफना कारो हुँदै रात्रि विश्राम बिहार राज्यको बक्सरमा हुनेछ । तेस्रो दिन बिहान बक्सरबाट प्रस्थान गरी ब्रम्हा स्थान चौराहा, आरा, बिहटा, दानापुर हुँदै रात्रि विश्राम पाटली पुत्र पटनामा हुनेछ । चौथो दिन पटनाबाट हाजीपुर वैशाली हुँदै काँटीमा रात्रि विश्राम हुनेछ । त्यस दिन दिवा विश्रामको स्थान टुङ्गो लागेको छैन ।

पाँचौँ दिन शाँटीबाट प्रस्थान गर्ने जन्ती शिवहर, रुन्नी सैदपुर हुँदै सीतामढीको पुनौराधाममा रात्रि विश्राम गर्ने छ । छैटौँ दिन सीतामढीबाट पुपरी, अहिल्यास्थान हुँदै बेनीपट्टीमा रात्रि विश्राम हुनेछ । सातौँ दिन बेनीपट्टीबाट बासोपट्टी, विसौल, फुलहरू हुँदै रात्रि विश्राम मधवापुर मटिहानीमा हुनेछ ।

आठौँ दिन मङ्सिर १८ गते जन्ती मटिहानीबाट जलेश्वर, पिपरा हुँदै साँझ नगर दर्शन गरी मिथिलापुरी जनकपुरधाममा विश्राम गर्नेछ । नवौँ दिन जन्ती सीताराम विवाह महोत्सवको अवसरमा मङ्सिर १९ गते अपराह्न २ बजे राम मन्दिरमा आयोजना हुने तिलकोत्सवमा सहभागी हुनेछ ।

मङ्सिर २० गते १०औँ दिन जन्ती बिहान धनुषाधामको दर्शन र दिउँसो गङ्गासागरमा आयोजना हुने मटकोर समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । यस्तै ११औँ दिन मङ्सिर २१ गते सीताराम विवाह महोत्सवको मूल समारोहमा आयोजना हुने बाह्रबिघा (रङ्गभूमि) मा आयोजना हुने स्वयंवर, त्यस पश्चात् नगर भ्रमण र रात्रिकाल विवाह महोत्सव समारोहमा जन्ती सहभागी हुनेछ ।

यसैगरी, १२औँ दिन बिहान जानकी मन्दिर परिसरमा सीताराम महाभिषेकम् (५१ तीर्थस्थलको जलबाट अभिषेक) गरिने र रामकलेवा (बिदाइ भोज) मा सहभागी भई रात्रि सामूहिक विवाह कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ । तेह्रौँ दिन जन्ती बिहान जनकपुरधामबाट अयोध्याधाम फर्कने छ । पिपरा, मनरा, मलंगवा हुँदै धनकौलमा स्वागत र रात्रि विश्राम वीरगन्जको मौलीपुरमा हुनेछ । चौधौँ दिन जन्ती बिहान वीरगन्जबाट प्रस्थान गरी मोतिहारी बाइपास, गोपालगञ्ज, कुशीनगर हुँदै गोरखपुर अयोध्यामा पुग्ने छ । रासस