• ७ मंसिर २०८१, शुक्रबार

बारीबाटै सयपत्री बिक्री हुँदा कृषक उत्साहित

blog

पुष्प व्यवसायी बुद्धिराज पौडेलको बारीमा फुलेको फूल ।

गोकर्ण पौडेल

तुलसिपुर, कात्तिक २४ गते । यस पटक तिहारमा सयपत्री बारीबाटै बिक्री भएपछि यहाँका कृषक उत्साहित भएका छन् । गत वर्ष तिहारमा प्लास्टिकका माला भारतबाट ल्याएर बिक्री बढी भएपछि स्थानीय कृषक चिन्तामा परेका थिए । 

यस वर्ष ९० क्विन्टल सयपत्री जिल्ला बाहिर निर्यात गरेको पुष्प व्यवसायी बुद्धिराज पौडेलले बताउनुभयो । उहाँले यस वर्ष करिब दुई बिघा क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती गर्नुभएको छ । उहाँले मङ्सिर महिना पूजा र विवाहका लागि समेत पुष्प खेती गर्नुभएको छ । 

पौडेलका अनुसार यस क्षेत्रबाट मात्र करिब दुईसय क्विन्टल फूल बाहिर जिल्ला निर्यात भएको छ । मेट्रो कलेजका विद्यार्थीले यस वर्ष एक लाख २० हजारको पुष्प बिक्री गरेको कलेजका प्राचार्य वसन्त आचार्यले बताउनुभयो । उहाँले मङ्सिर महिनामा हुने विवाह पूजालाई लक्षित गरेर समेत फूल उत्पादन गरिएको बताउनुभयो । 

गत वर्ष प्रतिकेजी एकसय ५० मा समेत बिक्री भएको थिएन । यस वर्ष प्रतिकेजी दुईसय ५० देखि तीन सयसम्म बिक्री भएको व्यवसायी बुद्धिराज पौडेलले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका नगर प्रवक्ता माधव वलीले दुई महिना अघिदेखि प्लास्टिकजन्य माला बिक्री वितरणमा प्रतिबन्ध लगाएका कारण किसानले उत्पादन गरेको सयपत्री फूलले उचित मूल्य पाएको र बिक्री बढेको बताउनुभयो ।