• २८ पुस २०८१, आइतबार

‘गणेशमानको आदर्श पछ्याउन जरुरी’

blog

दमौलीमा आयोजित कार्यक्रममा सहभागी नेताहरू । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक २४ गते । नेपाली कांग्रेसका संस्थापक नेता तथा जनआन्दोलन २०४६ का सर्वोच्च कमान्डर लौहपुरुष गणेशमान सिंहले देखाएको आदर्शलाई पछ्याउन जरुरी रहेको वक्ताहरूले बताएका छन् । 

गणेशमान सिंह फाउन्डेसन गण्डकी प्रदेश, पोखरा र गणेशमान अध्ययन एवं स्मारक पार्क संरक्षण समिति दमौली, तनहुँद्वारा व्यास नगरपालिका–२ गणेशमान चोकमा गरिएको सिंहको ११० औँ जन्मजयन्ती कार्यक्रममा वक्ताहरूले सो कुरामा बताएका हुन् । 

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा उहाँलाई लिइन्छ तर आफूभन्दा पार्टी र देश ठुलो हुन्छ, आवश्यक पर्दा त्याग गर्नुपर्छ भन्ने बिर्सन नहुने वक्ताहरूको भनाइ थियो । 

गणेशमान सिंहजस्तो पदको लोभ नगरी त्यागको भावना लिएर अघि बढ्न जरुरी रहेको कुरा अधिकांशले जोड दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य ध्रुव वाग्लेले गणेशमानले देखाएको मार्गमा हिँडेर कांग्रेस पार्टीलाई बलियो बनाउनुपर्ने बताउनुभयो । 

कांग्रेस तनहुँका सभापति तथा गण्डकी प्रदेश सभा सदस्य जीतप्रकाश आलेले गणेशमान सिंहलाई  वर्षको एक दिन मात्र हैन, सधैँ सम्झिनु पर्ने उहाँले देखाएको मार्गमा हिँड्नु पर्ने भनाइ छ । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा गणेशमानले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमुना प्रस्तुत गरेको उदाहरण उहाँले दिनुभयो ।

कार्यक्रममा कांग्रेस गण्डकी प्रदेशका उपाध्यक्ष तथा पूर्वमन्त्री मेखलाल श्रेष्ठले  पदभन्दा पार्टीलाई ठुलो ठानेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । गणेशमान सिंह फाउन्डेसन गण्डकी प्रदेशका अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाले गणेशमानले देखाएको सुशासनको बाटोमा हिँडे जनता सुखी र देश समृद्ध हुने बताउनुभयो । 

कार्यक्रममा समितिका सचिव समुन्द्र गोदार लगायतले गणेशमानलाई एकदिन मात्र सम्झिएर नहुने र प्रत्येक पल सम्झिएर उहाँको पाइला पछ्याउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।