• ७ मंसिर २०८१, शुक्रबार

साहित्यिक सक्रियता : केही विश्लेषण

blog

नेपाली भाषा र साहित्यको सेवामा आफूलाई अविरल रूपमा क्रियाशील तुल्याउँदै आएका लालगोपाल सुवेदी मूलतः कवि–व्यक्तित्वका रूपमा सुपरिचित हुनुहुन्छ । बालकविता लेखन र प्रकाशनका माध्यमबाट नेपाली साहित्यको क्षितिजमा झुल्किएका कवि सुवेदीका एकपछि अर्को गर्दै अन्य अनेकौँ विधाका रचना र कृतिहरू प्रकाशित हुँदै आएका छन् । उहाँका रचनामा खास गरी प्रकृतिप्रेम, देशप्रेम र मानवतावादी स्वर अन्तर्निहित रहिआएको पाइन्छ । यसका सापेक्षतामा उहाँका सिर्जनामा वर्तमानमा देखा परेका विविध किसिमका विकृति र विसङ्गतिप्रति आलोचना एवं भविष्यप्रति आशा र विश्वासको स्वर अत्यन्त प्रबल रूपमा घनीभूत हुन पुगेको पाइन्छ । वर्तमान समय–सन्दर्भमा देखा परेका निरीहता र विवशताविरुद्ध सङ्घर्षको आह्वान उहाँका कतिपय सिर्जनाले गरेका छन् । यिनै विषयकेन्द्रित फराकिलो चेतना–चिन्तनकै कारण उहाँका सिर्जनाहरू समसामयिक समय र परिधिका अत्यन्त सार्थक अभिव्यक्तिका रूपमा देखा पर्ने गरेका छन् ।

देशवासमा रहेको अवस्थामा होस् वा प्रवासमा रहेको अवस्थामै किन नहोस्; उहाँका प्रकाशित कृतिहरूकै कारण उहाँले नेपाली साहित्यको क्षितिजमा निर्वाह गर्दै आउनुभएको भूमिकालाई उपेक्षा गर्न सकिने अवस्था देखिँदैन । जहाँ रहे पनि उहाँको साहित्यिक प्रतिभा र साहित्य संस्थाहरूमा संलग्न भएर काम गर्ने जोसजाँगरसँग यस क्षेत्रमा लाग्ने जोकोही राम्ररी परिचित पनि छन् । डिल्लीराम मिश्र ‘कलमजीवी’ को लेखन, सम्पादन तथा थाक्रो प्रकाशनद्वारा प्रकाशमा ल्याइएको ‘शब्दविम्बमा कवि लालगोपाल सुवेदी’ नामक यो कृतिले यस तथ्यमा सङ्क्षिप्त रूपमै भए पनि केही प्रकाश पार्ने काम गरेको छ ।

लेख–आलेख खण्ड, भूमिका खण्ड, मन्तव्य खण्ड, अन्तर्वार्ता खण्ड र अन्त्यमा लालगोपालसम्बद्ध केही महत्वपूर्ण तस्बिर र सामग्री समावेश गरिएको यो कृतिलाई ‘कलमजीवी’ को लालगोपालप्रतिको एउटा सद्भावको उपजका रूपमा लिन सकिन्छ । यसै पुस्तकमा आबद्ध ‘सम्पादकीय’ मा ‘यो पुस्तकले कवि लालगोपाल सुवेदीको समग्र साहित्यिक यात्राक्रम र योगदानलाई प्रस्तुत गरेको’ उल्लेख गरिएको पाइए पनि यसमा पूर्ण रूपमा सहमति जनाउन सकिँदैन । किनभने यो पुस्तकमा लालगोपाल सुवेदीका समग्र कृतिका सम्बद्धमा गहन प्रकाश पारिएको छैन । यसभित्र अनेकौँ अग्रज स्रष्टा र विद्वान्का लालगोपालसम्बद्ध पूर्वप्रकाशित लेख–आलेख, उहाँका केही पुस्तकमा समावेश गरिएका भूमिका, उहाँका बारेमा अभिव्यक्त गरिएका विचार वा मन्तव्य आदि समावेश गरिएको पाइए पनि उहाँका सम्बन्धमा सबै स्रष्टाका पूर्वप्रकाशित अभिमत समावेश हुन सकेको पाइँदैन । यी र अन्य कतिपय तथ्यलाई मनन गर्दा यो पुस्तकलाई परिपक्व मनोभूमिमा तयार गरी प्रकाशित गरिएको पुस्तकका रूपमा आत्मसात् गर्न सकिने अवस्था भने देखिँदैन ।

यति हुँदाहुँदै पनि ‘कलमजीवी’ ले पुस्तकमा लालगोपालसम्बद्ध जेजति सामग्री समावेश गर्नुभएको छ; तीमध्ये केही अत्यन्त गहकिला सामग्रीका रूपमा देखिएका छन् । ‘सबाल्टर्न पात’ शीर्षकको सुवेदीको काव्यमाथि डा. लक्ष्मणप्रसाद गौतमद्वारा लिखित ‘पातबिम्बमा सबाल्टर्न चेतना’ शीर्षकको भूमिकाले सुवेदीका प्रतीकात्मक र विम्बात्मक शक्ति, सामथ्र्य र क्षमताका सम्बद्धमा गहन प्रकाश पार्दै उहाँको काव्य–चेतनाको सशक्त पक्षमाथि पनि गहन विवेचना र विश्लेषण गरेको छ । अनेकौँ सन्दर्भका कसीमा ‘पात र सबाल्टर्न’ कृतिमा लालगोपालले जुन गम्भीरताका साथ रहस्यमय किसिमले अभिव्यञ्जित गर्नुभएको छ, मैले समकालीन वा उत्तरवर्ती काव्यजगत्मा त्यो मिहीन सौन्दर्यलाई समाउन सक्ने शक्ति अन्य कविहरूमा देखेको छैन भनेर डा. गौतमले सुवेदीको काव्य–रचना क्षमता, विशेषता, महत्व र उपयोगिता आदिको खुलेर प्रशंसा गर्नुभएको छ । यो आलेखले कवि लालगोपाल सुवेदीको काव्य–क्षमताको राम्रो परिचय दिन सकेको छ । यसका अतिरिक्त सुवेदीको ‘राहुल यशोधरा संवाद’ शीर्षकको गीतिनाटकका सम्बन्धमा गोपीनाथ मैनालीद्वारा गरिएको समीक्षात्मक विश्लेषण पनि पठनीय सामग्री बन्न सकेको छ । त्यस्तै डा. रामप्रसाद ज्ञवाली ‘स्वदेश नबिर्सेको कवि : संवेग बोकेका कविता’ शीर्षकको आलेखले सुवेदीको स्रष्टा–व्यक्तित्व, काव्य–व्यक्तित्व, काव्य सृजन–क्षमता र यसको सशक्तताका पक्षमा महनीय प्रकाश पार्न सकेको पाइन्छ ।

यसै क्रममा उत्तर अमेरिकाको ‘नेपाली साहित्यको इतिहासमा प्रकाशित भएको सामग्रीलाई पुनर्लेखन गरिएको होमनाथ सुवेदीको ‘लावण्य कविताका कवि लालगोपाल सुवेदी’ को आलेखले लालगोपालको साहित्यिक सिर्जनशीलता र उहाँको जीवनका सम्बन्धमा राम्रो प्रकाश पारेको छ । नेपाली साहित्यका विविध विधाका एउटा सशक्त, सक्षम र सबल सर्जकका रूपमा यसले लालगोपाललाई चिनाउने आफ्नै किसिमको सार्थक प्रयास गरेको छ । यसका अतिरिक्त माधव घिमिरे, दयाराम श्रेष्ठ, कृष्णप्रसाद पराजुली, दैवज्ञराज न्यौपाने, रत्नशमशेर थापा, जयराज आचार्य, शिवगोपाल रिसाल, कृष्णहरि बराल, तुलसी दिवस, कृष्ण धरावासी आदि अनेकौँ स्रष्टा–व्यक्तित्वका लालगोपालसम्बद्ध विचार र मन्तव्य पुस्तकमा समावेश छन् । ‘श्रमजीवी’ हुँदै ‘कलमजीवी’ बन्न पुगेका डिल्लीराम मिश्रको ‘लालगोपाल सुवेदीसँगको समसामयिक अन्तर्वार्ता’ शीर्षकको सवाल जवाफले पनि सुवेदीलाई अझ स्पष्टसँग चिनाउने कार्यमा सहयोगी भूमिका निर्वाह गरेको छ । स्पष्ट छ– यी सबै सामग्रीले लालगोपालका व्यक्तित्व, कृतित्व र कार्य आदि विविध पक्षमा आआफ्नै किसिमले समीचीन प्रकाश पारेका छन् । सङ्कलित सामग्रीले सुवेदीलाई पाठकसँग चिनाउने व्रmममा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने क्षमता पनि बोकेका छन् । यही यथार्थ नै ‘शब्दविम्बमा कवि लालगोपाल सुवेदी’ शीर्षकको यो पुस्तकको विशेषता र प्राप्ति पनि बन्न सकेको छ ।    

Author

शिवप्रसाद भट्टराई