• २८ पुस २०८१, आइतबार

पाथीभरा केबुलकार परियोजना : झडपमा छ जना घाइते

blog

केबुलकार निर्माण पक्ष र विपक्षबिचको झडप नियन्त्रणमा लिँदै प्रहरी। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक २३ गते। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा निर्माण हुन लागेको केबुलकार परियोजना निर्माणको विषयमा शुक्रबार झडपमा हुँदा प्रहरीसहित छ जना घाइते भएका छन्। परियोजना पक्ष र बिरोध गर्ने पक्षबिच निर्माणस्थलमा झडप हुँदा घाइते भएका हुन्।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार केबुलकार निर्माणविरुद्ध रहेका फुङ्लिङ नगरपालिका–४ का ४५ वर्षीय चन्द्र मादेन घाइते हुनुभएको छ। परियोजनाको पक्षमा रहेका फुङ्लिङ नगरपालिका–४ कै ४० वर्षीय दामोदर अधिकारी र मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका २६ वर्षीय कुमार शेर्पा घाइते हुनुभएको छ।

यस्तै पाथीभरा क्षेत्रमा मजदुरी गर्दै आउनुभएका फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकका ४१ वर्षीय अर्जुन लिम्बू घाइते हुनुभएको छ। झडपकै क्रममा सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओली र प्रहरी सहायक हवल्दार अभिनास माझी सामान्य घाइते हुनुभएको छ। घाइतेमध्ये मादेनको जिल्ला अस्पताल ताप्लेजुङमा तथा अधिकारी र शेर्पाको स्थानीय तमोर अस्पतालमा उपचार भइरहेको प्रनाउ रावलले जानकारी दिनुभयो।

केबुलकार परियोजना निर्माणको जिम्मेवारी पाएको हिमालयन कन्स्ट्रकसन प्रालिले निर्माणस्थल पाथीभरा क्षेत्रको काफ्लेपाटीमा एक्साभेटर लैजाने क्रममा झडप भएको हो। सुरुमा केबुलकार पक्ष र विपक्षबिच हुनसक्ने सम्भावित झडपको अवस्थालाई दृष्टिगत गरी प्रहरीले एक्साभेटरको चाबी नियन्त्रणमा लिएको थियो। प्रहरीले एक्साभेटरको चावी लिएपछि परियोजना पक्षका जनशक्ति उत्तेजित हुँदा झडपको स्थिति सिर्जना भएको हो।

निर्माणस्थलको शान्ति सुरक्षा व्यवस्थापनमा खटिनुभएका प्रहरी निरीक्षक विवेक बस्नेतले प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको निर्देशनअनुसार चाबी नियन्त्रणमा लिएको बताउनुभयो। प्रजिअ शर्माको आदेशले एक्साभेटरको चाबी नियन्त्रणमा लिएका कारण झडपको अवस्था सिर्जना भएको फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनको भनाइ छ। 

नगर प्रमुख मादेनले भन्नुभयो, “चावी नियन्त्रणमा नलिएको भए झडपमा नपुगी सामान्य विवादसम्म हुने थियो।” परियोजना निर्माणको कामको शिलान्यास गर्नलाई एक्साभेटर लैजाने क्रममा स्थानीय प्रशासनले नै रोकेपछि विरोध गर्ने पक्षको मनोबल बढेको र सोही कारण झडप भएको मादेनको आरोप छ।

यता प्रजिअ शर्माले भने सम्भावित झडपको स्थितिसम्म पुग्न नदिनलाई चाबी नियन्त्रणमा लिएको बताउनुभयो। निर्माणस्थलमा परियोजनाविरुद्ध रहेका पक्षको उपस्थिति र तत्कालको स्थिति असहज देखिएकाले झडपको खतरा रोक्न एक्साभेटरको चाबी नियन्त्रणमा लिनुपरेको उहाँको भनाइ छ। केही समयसम्मको झडपपछि भने प्रहरीले परियोजना विरुद्धमा रहेकालाई लखेटेको थियो। परियोजना स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित छन्।

पाथीभरा क्षेत्रमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षसमेत रहनुभएका चन्द्र ढकाल नेतृत्वको पाथीभरा (मुक्कुमलुङ) दर्शन केबुलकार प्रालिले परियोजना निर्माण गर्न लागेको हो। केबुलकार परियोजना सुरु भएपछि परियोजनाविरुद्ध मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति र केबुलकार खारेजी सङ्घर्ष समिति आन्दोलित बनेको छ।

यो पनि पढ्नुहोस

केबलकार निर्माणको विषयमा ढुङ्गा हानाहान