• २१ मंसिर २०८१, शुक्रबार

क्याम्पस प्रमुख पद त्यागेर जैविक मल उत्पादनमा

blog

भर्मि मल उत्पादमा सक्रिय शेषराम चौधरी । तस्बिरः जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, कात्तिक २३ गते । चार दशक लामो शिक्षण यात्राको अन्त्यपछि जैविक मल उत्पादनतिर लाग्नुभएका कपिलवस्तु बुद्धभूमि नगरपालिका –९ बकुलीपुरका शेषराम चौधरी अहिले कृषकहरूका लागि उदाहरण बन्नुभएको छ । 

२०३७ सालबाट शिक्षण पेसामा लाग्नुभएका चौधरी जनकल्याण माविमा अङ्ग्रेजी शिक्षक तथा सहायक प्रअको रूपमा कार्यरत हुनुहुन्थ्यो । बहुभाषी शिक्षाका लागि प्राथमिक तहका पुस्तक (सन्दर्भ सामग्री) लेख्ने उहाँले २०७४ मा सेवानिवृत्त हुनुभएको थियो । 

त्यसपछि क्याम्पसमा प्राध्यापन गर्न तथा प्राचार्यको जिम्मेवारी स्वीकार्न पटक–पटक अफर आयो, तर उहाँको मन त्यसमा गएन । नयाँ सोच र उत्साहका साथ जैविक मल उत्पादनमा हात हाल्नुभयो ।

शेषरामलाई जैविक मलको सम्भावनाबारे जानकारी युट्युबबाट भयो । तीन वर्षअघि एक लाख रुपियाँको लगानीमा गँड्यौला किनेर व्यवसाय सुरु गर्नुभयो । अहिले वार्षिक १५ टन मल उत्पादन गर्न थाल्नुभएको छ । 

“सानो लगानीमै सुरु गरेको यो कामले अहिले राम्रो आम्दानी दिन्छ” उहाँले भन्नुभयो । गोबर र कुहिने जैविक पदार्थबाट उत्पादित भर्मि कम्पोस्ट मल, भर्मीवास (झोल मल) र वेस्ट डी–कम्पोजरजस्ता मलमा नाइट्रोजन, फस्फोरस, क्याल्सियमजस्ता महत्वपूर्ण तत्व पाइन्छ । जसले माटोलाई स्वस्थ राख्न मद्दत गर्छ । 

भर्मीवास जैविक विषादी र मल दुवैको रूपमा प्रयोग गर्न सकिन्छ । एक लिटर भर्मिवासमा १० देखि १५ लिटर पानी मिसा प्रयोग गर्न सकिन्छ । “सुरुमा केही कृषि सामग्री चाहिने भएकाले एक लाख रुपियाँको गँड्यौला किने । ५० हजार अन्य संरचना बनाउन लाग्यो । 

अहिले कपिलवस्तु र छिमेकी जिल्लाका किसानबाट मलको माग गर्छन् । हाम्रो फर्मको मल वातावरणमैत्री र गुणस्तरीय भएकाले टाढाको जिल्लाबाट पनि माग आउन थालेको छ” चौधरीले भन्नुभयो । चौधरीले एक, दुई, पाँच केजीका प्याकेजका साथै २५ र ४० केजीको बोरामा पनि उपलब्ध गराउनुहुन्छ । जसको मूल्य प्रतिकेजी ३० रुपियाँ राखिएको छ ।

गँड्यौला मल प्राङ्गारिक खेतीका लागि अति उपयुक्त मानिन्छ । यसमा रहेका पोषक तत्व पानीको प्रवाहले पखाल्दैन । मलमा नाइट्रोजन, फस्फोरस, क्याल्सियम, म्याग्नेसियम, फलाम, मोलिब्डेनम, गन्धकजस्ता तत्वको मात्रा अन्य मलभन्दा प्रशस्त मात्रामा पाइन्छ । यो मलले माटोमा रहेका पोषक तत्वहरूलाई घुलनशील बनाउँछ, जसलेगर्दा बिरुवाले सजिलै प्राप्त गर्न सक्छ ।

गँड्यौला मल बनाउँदा केही विशेष ध्यान दिनुपर्ने कुरा पनि छन् । “लसुन, प्याज, मासुजस्ता कुहिन नचाहिने पदार्थ गँड्यौलाको बेडिङमा राखिँदैन । यसले मलको गुणस्तरमा असर पर्छ । गँड्यौलाले फोहाेर खाएर दिसा गर्दछ त्यो दिसा नै गँड्यौला मल हो । 

मल उत्पादनका लागि इपिजेइक प्रजातिका गँड्यौला प्रयोग गरिन्छ । चौधरीले सो प्रजातिको आइसिनिया फोटिडा जात प्रयोग गर्नुभएको छ । यो प्रजाति जमिनको सतहमा बस्ने र जैविक पदार्थ खाने गर्छन् ।