• १८ पुस २०८१, बिहिबार

सरकारले बजेट नदिएपछि २२ घर अग्निपीडितले राहत पाएनन्

blog

अग्निपीडितका लागि निर्माणाधीन नयाँ घरहरू । तस्बिर: हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला 

उर्लाबारी, कात्तिक २३ गते । सङ्घीय र प्रदेश सरकारले सुनिश्चित गरेको बजेट नपठाएपछि मोरङको रङ्गेली –३ स्थित बाबुसाहेब टोलका अग्निपीडित २२ घरपरिवार अझै छाप्रो मुनि बसिरहेका छन् । 

२०८० को चैत ३ गते भएको भीषण आगलागीमा परी बाबुसाहेब टोलको सन्थाल बस्ती छिनभरमा खरानी भएको थियो । त्यसयता उनीहरू दुखका साथ दैनिकी चलाइरहेका छन् ।

कुल ५ लाखमा निर्माण हुने घरका लागि पूर्व सर्त अनुसार कोसी प्रदेश सरकारले २५ प्रतिशत खर्च ब्योहोर्ने सहमति भएको थियो । यस्तै सङ्घीय सरकारले ५० प्रतिशत र स्थानीय सरकारले २५ प्रतिशत खर्च ब्योहोर्ने सहमति अनुसार काम सुरु भएको थियो । तर, कार्यविधिको अभाव देखाउँदै सङ्घीय र प्रदेश सरकारले बजेट निकासा नगरेपछि रङ्गेली नगरपालिकालाई स्रोत जुटाउन थप ४ महिना लागेको छ । जसले गर्दा समयमा घर हस्तान्तरण गर्न नसकेको वडा नम्बर ३ का वडाध्यक्ष भरतकुमार प्रसाईँले बताउनु भयो । प्रसाईँका अनुसार हाल  हाल घर निर्माणका लागि ह्याविटास र लुथरन वल्र्ड फेडेरेसनले सहयोग गरिरहेका छन् । 

वडाध्यक्ष प्रसाईँले भन्नुभयो – स्रोत सुनिश्चित भएको भए असार अघि नै अग्निपीडितलाई नयाँ घरमा सारिसक्थ्यौँ । तर,सङ्घ र प्रदेश सरकारबाट धोका भयो । नगरको बजेटबाट सम्भव थिएन । हाल नगरले प्रति घर ५० हजार,ह्याविटासले प्रतिघर १ लाख ५० हजार, सङ्घीय सांसदको जनता आवास कार्यक्रमबाट जस्तापाता र नगरको विपद् कोषबाट केही रकम व्यवस्थापन गर्ने गरी घर निर्माण सुरु गरेका छौँ । ९० प्रतिशत काम सकिएको छ । शीत लहर भन्दा अघि नै अग्निपीडितलाई नयाँ घरमा सार्ने गरी काम भइरहेको प्रसाईँले जानकारी दिनुभयो । 

यस्तै नेकपा एमाले रङ्गेली नगर समितिले घर निर्माणका लागि ३ लाख ६५   हजार ३ सय ४० रुपियाँ आर्थिक सहयोग गरेको थियो । नगरपालिकाले बस्ती पुनर्निर्माणका लागि सर्वसाधारणसँग क्युआर कोड मार्फत गरेको सहयोग आह्वान मार्फत ६ लाख १५ हजार रुपियाँ नगद सङ्कलन भएको थियो । 

अग्निपीडित जङ्गली मुर्मुले भन्नुभयो – घरमा बसे जस्तो हुँदैन नि । दुखले चलेको छ । जङ्गली मात्र होइन, तल्लु, भना, धारो, जुगल, मंगल, साइला, सञ्चराम, गम्बु, सुकदेव, राम मुर्मू तथा चन्द्र, सुकल, बासुदेव, चट्टा किस्कु, मनोज, बुधराम, मराहाङ हेमराम र सुमन सतार, सुकल हास्दा, लुकु टुडु , बाबूलाल बेश्राको अवस्था पनि उस्तै छ ।