• २८ पुस २०८१, आइतबार

तेह्र वर्षमा पनि बनेन सेज

blog

काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माण भएको पाँचखाल विशेष आर्थिक क्षेत्रको प्रशासनिक भवन । तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना

बनेपा, कात्तिक २३ गते । सरकारले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–७ र ८ मा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गर्ने घोषणा गरेको १३ वर्ष पूरा हुँदा पनि सेज निर्माणको कामै सुरु हुन सकेको छैन । निर्यातजन्य उद्योग स्थापना गरी व्यापार घाटा कम गर्ने र औद्योगिकीकरणमार्फत अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले २०६८ भदौ २७ गतेको मन्त्रीपरिषद् बैठकले पाँचखालमा सेज स्थापना गर्ने निर्णय गरेको थियो । 

मन्त्रीपरिषद्ले निर्णय गरेको सात वर्षपछि अर्थात् २०७५ असार २४ गते मात्रै सेजको नाममा जग्गा प्राप्ति भएको थियो । जग्गा प्राप्ति भएको छ वर्ष बितिसक्दा पनि हालसम्म सेजका लागि निर्माण गर्नुपर्ने पूर्वाधारलगायतको काम भएको छैन । जग्गा प्राप्तिमा ढिलाइ त छँदै थियो, प्राप्तिपछि पनि सेज निर्माणको काममा ढिलाइ भयो । 

निर्माणस्थल तयारीका लागि बल्ल रुख कटान हुँदै छ । विशेष आर्थिक क्षेत्र प्राधिकरण पाँचखाल साइट कार्यालयका निमित्त प्रमुख तुलसीराम मरासिनीले सेजका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण तथा उद्योग स्थापना गर्न आवश्यक पर्ने रुख कटानको प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले सेजभित्र रहेका १४ हजार ११ वटा रुख कटान गर्नुपर्ने भएकाले डिभिजन वन कार्यालयमार्फत वन विभागलाई सिफारिस गरिएको र विभागले रुख काट्न स्वीकृति दिने काम अन्तिम चरणमा पुगेको बताउनुभयो । मरासिनीले रुख कटानको स्वीकृति पाएलगत्तै डिभिजन वन कार्यालयमार्फत रुख कटान हुने र कटानपछि सेज निर्माण हुने स्थानको जग्गा सम्याउने, जग्गाको वरिपरि घेराबार लगाउनेलगायतका काम गरिने बताउनुभयो ।सरकारले सेज स्थापनाका लागि वन मन्त्रालयमार्फत तत्कालीन होक्से गाविसको देवीस्थान सामुदायिक वनको छ सय रोपनी र शिखरपुर सामुदायिक वनको चार सय रोपनी गरी एक हजार रोपनी जमिन उपलब्ध गराएको हो । एक हजार रोपनी वन उपलब्ध गराएबापत सरकारले वन मन्त्रालयलाई २० करोड रुपियाँ उपलब्ध गराएको थियो । 

पाँचखाल सेज निर्माण अन्तर्गत हालसम्म पहुँचमार्ग निर्माण, प्रशासनिक भवन निर्माण तथा सेज रहने स्थानमा तारबारको काम गरिएको छ । सेज निर्माण हुने एक हजार रोपनी जमिनमध्ये २० रोपनी जमिनको रुख कटान गरी प्रशासनिक भवन निर्माण गरिएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरण पाँचखाल साइट कार्यालयका निमित्त प्रमुख मरासिनीले सेजको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) तयार भई वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र वातावरणीय व्यवस्थापन योजना (इएनटी) स्वीकृतसमेत भइसकेको बताउनुभयो । उहाँले सेजका लागि आवश्यक पर्ने प्रशासनिक भवनलगायतका काममा हालसम्म करिब १५ करोड ५३ लाख ४९ हजार सात सय रुपियाँ खर्च भएको बताउनुभयो ।

महादेवस्थान सबडिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत हरिचन्द्र तिमल्सिनाले विशेष आर्थिक क्षेत्रका लागि कटान गर्नुपर्ने रुख कटानका लागि वन विभागमा स्वीकृतिका लागि पठाइएकोमा विभागबाट दुई वटा सामुदायिक वनको क्षेत्रमा कुन वनमा कति रुख पर्छन् भनेर छुट्याएर पठाउन निर्देशन आएकाले छुट्याउने काम भइरहेको बताउनुभयो । उहाँले कात्तिकभित्र छुट्याई सकिने बताउनुभयो । 

डिपिआर अनुसार सेजका लागि करिब १४ अर्ब रुपियाँ खर्च हुने अनुमान छ । डिपिआर अनुसार सेजमा प्रशासनिक भवन, सेवा भवन, सीमा पर्खाल, बाल उद्यान, फोहोर पानी प्रशोधन केन्द्र, रिफ्रेसमेन्ट सेन्टर, सार्वजनिक शौचालय, ठुला तथा साना सवारीसाधन पार्किङ, खानेपानी ट्याङ्की निर्माण, खानेपानी प्रशोधन केन्द्र, विद्युत्को सबस्टेसनलगायतका संरचना निर्माण हुने छन् । पाँचखाल सेजभित्र ५२ वटा निर्यातजन्य उद्योग स्थापना गर्न सकिने छ ।