• २८ पुस २०८१, आइतबार

रिलायन्सलाई उच्च अदालतबाट सफाइ

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २३ गते । बुक बिल्डिङ विधिमार्फत सवसाधारणका लागि सेयर जारी गर्न लागेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई प्रिमियम मूल्यमा साधारण सेयर निष्कासन गर्न अदालतले बाटो खुला गरिदिएको छ । महँगो र अस्वाभाविक मूल्यमा सेयर जारी गर्न लागेको भन्दै सो कम्पनीको सेयर बिक्रीमा रोक लगाउन माग गर्दै परेको रिट बुधबार उच्च अदालत पाटनले खारेज गरिदिएको छ । 

यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि यसै विषयमा अध्ययन गरी सेयर निष्कासन गर्न मार्ग प्रशस्त गरिदिएको थियो । उच्च अदालत पाटनले गत असार २६ मा कारण देखाउ आदेश जारी गर्दै आइपिओ निष्कासन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष चयन गर्न नसक्दा रिलायन्सदेखि अरू कम्पनीको पनि सेयर निष्कासनसम्बन्धी प्रक्रिया अवरुद्ध हुँदै आएको छ । 

रिलायन्स स्पिनिङ मिल्सका निर्देशक शशिकान्त अग्रवालले अदालतको आदेश अनुरूप अब नियामक धितोपत्र बोर्डले प्रक्रिया अगाडि बढाउन दिनुपर्ने बताउनुभयो । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भइसकेको छ ।