गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक २३ गते । ललितपुरको भैँसेपाटी प्रहरी प्रभागका प्रहरीसमेतको मिलेमतोमा भएको ‘हनी ट्याप’ घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुरु गरेको छ ।
विराटनगरका एक जना व्यापारीलाई काठमाडौँमा बोलाएर एक युवतीले होटेलमा भेटघाटका क्रममा भैँसेपाटी प्रहरीले नियन्त्रणमा लिई बलात्कार मुद्दामा फसाउने भन्दै ३० लाख रुपिँया असुली गरेको घटना बाहिर आएको थियो । जिल्ला प्रहरी परिसर ललितपुरले हनी ट्र्यापमा प्रयोग भएकी सुषमा विक, ताज मुल इस्लाम, भीमादेवी थापा र प्रहरी सहायक हवलदार महेन्द्र हमाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । प्रहरी प्रधान कार्यालयले सो घटनाको अनुसन्धान गर्न सिआइबीलाई पत्राचार गरेको छ । सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले सो घटनाबारे अनुसन्धान अधिकृत तोकेर थप अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । थापाले सो घटनामा ललितपुर प्रहरीले अनुसन्धान गरेको सम्पूर्ण फाइल झिकाइएको पनि जानकारी दिनुभयो । सो घटनामा एक प्रहरी उपरीक्षकसहित अन्य व्यक्तिको पनि संलग्नता देखिएको र घटनाको प्रकृति हेर्दा सङ्गठित अपराध कसुर देखिने गरी प्रमाण फेला परेपछि अनुसन्धानको जिम्मा सिआइबीलाई तोकिएको हो ।
सो घटनाका मुख्य आरोपी भैँसेपाटी प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई गृह मन्त्रालयले निलम्बन गरिसकेको छ । अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेकी शाही फरार छन् भने पक्राउ परेकाविरुद्ध आपराधिक लाभ लिन नहुने कसुर र सङ्गठित अपराधमा अनुसन्धान भइरहेको छ ।