• १२ पुस २०८१, शुक्रबार

पाँच आयोजनाको तयारी द्रुत गतिमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २२ गते । सरकारले विभिन्न पाँच वटा आयोजनाको तयारी दु्रत गतिमा अगाडि बढाउने भएको छ । अर्थ मन्त्रालयमा बुधबार बसेको बैठकले पूर्वपश्चिम राजमार्गको बागमती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत् वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्वतयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो । 

यस्तै तेस्रो चरणको रानीजमरा कुलरिया सिँचाइ र पहुँच तथा उत्थानशीलताका लागि डिजिटल सेवा रूपान्तरणसम्बन्धी आयोजनाको तयारी पनि दु्रत गतिमा तयारी गर्ने निर्णय उक्त बैठकले गरेको छ । विश्व बैङ्कको सहयोगमा नेपालमा सञ्चालन हुने यी आयोजनामा करिब ७२ अर्ब रुपियाँ लगानी हुँदै छ ।

विश्व बैङ्कको सहुलियतपूर्ण ऋण लगानीमा सञ्चालित हुने आयोजनाको सम्बन्धित मन्त्रालयले सरोकारवालासँग छलफल गरी पूर्वतयारी गर्ने छन् भने आवश्यकता अनुसार अर्थ मन्त्रालयले सहजीकरण गर्ने छ ।

बैठकले सन् २०२५ को फेब्रुअरीसम्म आयोजनासँग सम्बन्धित सबै विषयको टुङ्गो लगाई पूर्वतयारीका काम सक्ने निर्णय गरेको छ । तयारी पूरा भएपछि सन् २०२५ को मार्चमा बस्ने विश्व बैङ्कको बोर्ड बैठकमा ती आयोजनाका प्रस्ताव पेस गरिने योजना छ ।  

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाको पूर्वतयारीमा विशेष ध्यान दिन र आयोजना स्वीकृत भएपछि कार्यान्वयनमा तदारुकताका साथ लाग्न बैठकमा निर्देशन दिनुभयो । उहाँले नेपालले आफ्नो आवश्यकता अनुसार सहयोग लिने र अधिकतम प्रतिफल दिने ठाउँमा लगानी गर्ने बताउनुभयो ।