• २७ पुस २०८१, शनिबार

अध्यक्ष ढकाललाई सम्मान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २२ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित हुनुभएको छ । 

नेपाल र गणतन्त्र इन्डोनेसियाबिच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अध्यक्ष ढकालले निर्वाह गरेको भूमिकाको कदर गर्दै इन्डोनेसिया सरकारले उहाँलाई ‘करका बुवाना अवार्ड’ बाट सम्मानित गरेको हो ।

इन्डोनेसियाको परराष्ट्र मन्त्रालयद्वारा प्रदान गरिएको सो अवार्ड इन्डोनेसियासँगको सम्बन्धमा उल्लेख्य भूमिका निर्वाह गर्ने विदेशी विशिष्ठ व्यक्तित्वलाई प्रदान गर्ने गरिएको मन्त्रालयले जनाएको छ ।    

इन्डोनेसियाली परराष्ट्रमन्त्रीका तर्फबाट नेपालका लागि इन्डोनेसियाली राजदूत हेरु एच. सुवोलोले ढकाललाई हालै काठमाडौँमा आयोजित कार्यक्रममा उक्त सम्मान हस्तान्तरण गर्नुभएको अध्यक्ष ढकालको सचिवालयले जनाएको छ । 

त्यस अवसरमा राजदूत सुवोलोले ढकालको प्रयासले दुई देशबिचको सम्बन्ध सुदृढ हुनुका साथै दुवै देशलाई आर्थिक, सांस्कृतिक र कूटनीतिक सहकार्य विस्तारमा फाइदा पुगेको बताउनुभयो । 

अध्यक्ष ढकालले सम्मानका लागि इन्डोनेसियाली सरकारलाई आभार व्यक्त गर्दै यस पुरस्कारले आफूलाई नेपाल र इन्डोनेसियाबिच आपसी सहकार्य, विकास र समृद्धिका लागि काम गर्न थप प्रेरणा मिलेको बताउनुभयो । 

यसअघि पनि सन् २०१५ को भूकम्पको समयमा उद्धार तथा राहत प्रयासमा गरेको योगदानको कदरस्वरूप इन्डोनेसिया सरकारले ढकाललाई सम्मान गरेको थियो ।