• ७ मंसिर २०८१, शुक्रबार

सेवाग्राहीमैत्री काममा केन्द्रित हुन शिक्षामन्त्री भट्टराईको आग्रह

blog

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई । तस्बिर : मन्त्रीको सचिवालय

गोरखापत्र अनलाइन

कास्की, कात्तिक २१ गते । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सेवाग्राही कार्यालयको काम सेवाग्राहीमैत्री बनाउनेतर्फ केन्द्रित  हुन आग्रह गर्नुभएको छ। गृह जिल्ला कास्कीस्थित शिक्षा सम्बद्ध कार्यालयहरूको अवलोकनका क्रममा उहाँले सो आग्रह गर्नुभएको हो । 

कार्यालय प्रमुख  र कर्मचारीसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले स्रोत साधनलाई दोष दिएर सेवा प्रवाहमा ढिलासुस्ती हुन नहुने भन्दै  हरेक सेवा प्रवाहमा संरचना बाधक भए तत्काल समय सापेक्ष बनाउनेतर्फ लाग्न आग्रह गर्नुभयो।

राज्यका हरेक निकाय नागरिकको मौलिक हकहरूको संरक्षक समेत भएको हुँदा सबै निकाय इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्न लागिपर्नु पर्ने मन्त्री भट्टराईको भनाइ छ । प्रदेश र स्थानीय तहसहित सङ्घ सरकारको  समेत अपनत्व हुनेगरी संरचना निर्माणका लागि मन्त्रालय लागि परेको भन्दै अब निजी र सरकारी शिक्षाभन्दा समग्र शिक्षा कस्तो बनाउने भन्नेतर्फ बहस केन्द्रित भएको भन्दै मन्त्री भट्टराईले छिट्टै जारी हुने शिक्षा ऐनमार्फत यसको सम्बोधन हुने जानकारी दिनुभयो ।

शिक्षाको गुणस्तर बढाउन दक्ष र तालिम प्राप्त शिक्षकको महत्त्वपूर्ण भूमिका हुने हुँदा उनीहरूको क्षमता विकासको काममा लाग्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो । सो अवसरमा प्राविधिक शिक्षाका शिक्षालयहरू थप व्यवस्थित र प्रभावकारी बनाउन प्रदेशस्तरबाट मनिटरिङ गर्ने व्यवस्था व्यवहारिक र वैज्ञानिक हुने जिकिर गर्नुभयो ।

अन्तरक्रिया लगत्तै मन्त्री भट्टराईले कास्कीस्थित शिक्षा विकास समन्वय इकाई, शिक्षा विकास निर्देशनालय, प्रादेशिक परीक्षा बोर्डलगायतका कार्यालयहरूको अवलोकनसहित सेवा प्रवाहको अवस्था सम्बन्धमा जानकारी लिनुभयो ।