कोकिला ढकाल
इलाम, कात्तिक २१ गते । पछिल्लो समय इलामका ठुला खोलामा करेन्ट लगाएर र विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने क्रम बढेको छ । जिल्लामा रहेका माइखोला, जोगमाई, देउमाई, पूवा लगायतका खोलामा करेन्ट लगाएर र विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने गरेको स्थानीयले बताएका छन् ।
सानो जेनेरेटर र ग्रिनेट प्रयोग गरी माछा मार्नेगरेको स्थानीयको भनाइ छ । माइखोलामा अहिले स्थानीय जातका माछा नै मासिइसकेको एक स्थानीयले बताउनुभयो । ‘असला, बुदुना, सहर, गोज, चेप्टी, ठेड, भ्याद्रे, काब्रे, राजा बाम, चुच्चे बाम, कत्ले, तिते, मसाने, लोहोरी, नाक कटुवा, सिंगाने लगायत १५ बढी जातका स्थानीय माछा पाइन्थे’ उहाँले भन्नुुभयो, ‘अहिले कत्ले, तिते र बसाइँ सरी आएका बुदुना मात्र पाइन्छ ।’
खोलामा पानी सुुकेपछि माछा मार्नेको सङ्ख्या धेरै छ । स्थानीयको भनाइअनुसार कतिपयले आफैँ घरमा विस्फोटक पदार्थ तयार गर्ने गरेका छन् । कतिपयले भने स्थानीय हाइड्रोपावर निर्माणका लागि ल्याइएका विस्फोटक पदार्थ चोरेर पनि प्रयोग गर्ने गरेका छन् ।
कतिपयले भने खोला छेउमै जेनेरेटर लगेर करेन्ट प्रयोग गरी माछा मार्ने गरेका छन् । माइखोलाको मेची राजमार्ग अन्तर्गत पर्ने राजदुवालीदेखि करिब दुुई किलोमिटर आसपासमा यसरी मार्नेको समूह हुने गरेको बताइएको छ । यहाँ माछा मार्ने को हुन् भन्ने स्थानीयलाई राम्रो जानकारी भए पनि खुलेरै बताउन चाहँदैनन् ।
जलचरलाई करेन्ट लगाउन र विस्फोटक पदार्थ प्रयोग गरी मार्न नपाउने कानुनी व्यवस्था छ । यसअघि सन् २०१० मा देउमाइ खोलामा करेन्ट र विस्फोटक पदार्थ प्रयोग गरी माछा मारेको भन्दै स्थानीय तीन जना विरुद्ध जिल्ला प्रशासन कार्यालय इलामले जलचर संरक्षण ऐन–२०१७ अनुसार मुद्दा चलाएको थियो । त्यसरी माछा मार्ने क्रम केही रोकिएको थियो । अहिले पुनः जथाभावी ढङ्गले माछा मार्ने गरेको बताइएको छ ।