• ७ मंसिर २०८१, शुक्रबार

क्याम्पसको अस्तित्व सङ्कटमा

blog

प्रनिश गिरी

कुस्मा (पर्वत), कात्तिक २१ गते  । पर्वतका अधिकांश ग्रामीण सामुदायिक क्याम्पसमा पढ्ने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दो छ । विद्यार्थी घटेसँगै सामुदायिक क्याम्पसको अस्तित्व नै सङ्कटमा परेको छ । 

पर्वतका ग्रामीण क्षेत्रमा ६० को दशकमा शैक्षिक विकास गर्ने भनी क्याम्पस खोल्ने लहर नै चलेको थियो । धेरै जसो ग्रामीण क्याम्पस समुदायस्तरको आर्थिक र भौतिक सहयोगबाट स्थापना गरिएका थिए । कतिपय क्याम्पस स्थापनाका लागि चाहिने आर्थिक रकम जुटाउन समुदायस्तरबाट धार्मिक महायज्ञ गर्ने र तिहारमा देउसीभैलो खेल्ने गरिन्थ्यो । सदरमुकाममा रहेका दुई बहुमुखी क्याम्पससहित जिल्लाभरका १२ वटा सामुदायिक क्याम्पस सञ्चालनमा सङ्कट छ । कतिपय क्याम्पस विद्यार्थी नहुँदा बन्द नै हुने अवस्थामा पुगेका छन् ।

फलेवास नगरपालिकामा २०४१ सालमा स्थापित जिल्लाकै पहिलो स्थापित फलेवास बहुमुखी क्याम्पस पहिले लोकप्रिय थियो । क्याम्पस प्रमुख लालप्रसाद शर्मा उक्त क्याम्पसमा कुनै बेला विद्यार्थी पाँच सयभन्दा बढी भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीको सङ्ख्या पहिले उल्लेख्य नै थियो । पछिल्लो पटक ६० को दशकमा स्ववियु निर्वाचनका नाममा भएको अस्वस्थ राजनीतिक हस्तक्षेप र कुटपिट काण्डले क्याम्पसको शैक्षिक अवस्था खस्किँदै गयो भने पछिल्लो समयमा मानिसको बसाइँसराइ र १२ कक्षा पूरा गरेपछि वैदेशिक रोजगारीमा जाने अभ्यासले पनि नियमित पढ्ने आउने विद्यार्थीको सङ्ख्या घटेर अहिले एक सय जनाको हाराहारीमा छ ।” 

विद्यार्थी सङ्ख्या कम हुँदा सदरमुकामका स्नातकोत्तरसम्म पढाइ हुने गुप्तेश्वर र शिवालय बहुमुखी क्याम्पसबिच मर्जको प्रक्रिया अगाडि बढाइएको छ । गुप्तेश्वर क्याम्पस प्रमुख सुवास पन्तका अनुसार केही वर्षपहिलेसम्म प्लस टु हटाइसकेपछि पनि क्याम्पसमा विद्यार्थीको सङ्ख्या चार सयभन्दा बढी थियो ।     

विश्वविद्यालय अनुदान आयोगबाट अनुदान रकम पाउन कम्तीमा पनि ७५ जना विद्यार्थी हुनु पर्छ । अहिले धेरै जसो क्याम्पसलाई सर्त अनुसार विद्यार्थी अपुग भई अनुदान रकम फुत्किने पिरलो छ । अनुदान नहुने हो भने विद्यार्थीको मासिक शुल्कबाट मात्रै तलब भत्ता र प्रशासनिक खर्च धान्न सकिँदैन । विद्यार्थी घटेपछिको शैक्षिक सङ्कटबारे क्याम्पस प्रमुख पन्तले भन्नुभयो, “प्लस टु पूरा गरेपछि विद्यार्थी विदेश जाने भनी ल्याङ्ग्वेज इन्स्टिच्युट धाउँछन् । क्याम्पस सञ्चालनका लागि स्थानीय सरकारको कुनै सहयोग छैन । प्रदेशले एक/दुई लाख न्यून आर्थिक सहयोग गर्छ । स्थानीय निकायले अपनत्व र स्वामित्व नलिने हो भने क्याम्पस अझै सङ्कटमा पर्ने छन् ।” 

पर्वतको पैयुँमा २०६३ सालमा स्थापित पैयुँ बहुमुखी क्याम्पस दक्षिणी भेगमा रहेका चार क्याम्पसमध्ये सबैभन्दा पहिले स्थापना गरिएको क्याम्पस हो । विद्यार्थी घटेपछि केही राम्रा मानिने क्याम्पसले पनि सङ्कट बेहोर्नु परेको कुरा स्वीकार गर्दै पैयुँ क्याम्पसका प्रमुख टङ्कप्रसाद तिवारी भन्नुहुन्छ, “केही वर्षपहिलेसम्म विद्यार्थी सङ्ख्या राम्रो थियो । यतिखेर घटेको छ । शुल्क उठाएर क्याम्पस सञ्चालन गर्ने भन्ने अवस्था छँदै छैन । जेनतेन वार्षिक रूपमा आउने अनुदान रकमले क्याम्पस सञ्चालन भएको छ । संस्था चलाउने हो भने अनुदान रकम वृद्धि गर्नु पर्छ, होइन भने हात झिक्दा हुन्छ ।”

क्याम्पस प्रमुख तिवारीका अनुसार व्यवस्थापन र शिक्षा सङ्काय पढाइ हुने क्याम्पसमा विद्यार्थी सङ्ख्या १४० हाराहारी छन् । क्याम्पसमा भएका विद्यार्थीमध्ये पनि ९० प्रतिशत छात्रा छन् ।