• ७ मंसिर २०८१, शुक्रबार

फरक शैलीको सङ्ग्रहालय

blog

खिलुङ मौलिक सङ्ग्रहालय

अर्जुन काफ्ले 

स्याङ्जा, कात्तिक २१ गते । नेपालको पहिचानसँग जोडिएका परम्परागत रीतिरिवाज तथा रहनसहन जस्ता मौलिकता बिस्तारै हराउँदै जान थालेका छन् । उचित संरक्षणका लागि यहाँको भिरकोट नगरपालिका–७ मा फरक शैलीको सङ्ग्रहालय सञ्चालन गरिएको छ । 

४५ घर गुरुङ समुदायको बसोबास रहेको यहाँ पछिल्लो समय लोप हुने अवस्थामा पुगेको मौलिक कला संस्कृति पहिचानलाई सङ्ग्रहालयमार्फत जोगाउने प्रयास गरिएको हो । जिजुबाजेका पालामा प्रयोग गरिने मौलिक पहिचानलाई जीवन्त राख्न स्थानीयको पहलमा सङ्ग्रहालय स्थापना गरेको खिलुङ होमस्टेका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । खिलुङकालीका पर्यटन समितिले पर्यटन विकास समितिको आर्थिक सहयोगमा ३२ लाखको लागतमा सङ्ग्रहालय निर्माण गरेको हो । शाह वंशीय राजाहरूको उद्गमस्थलका रूपमा समेत चिनिने खिलुङकालिका मन्दिरनजिक भएकालेसमेत सङ्ग्रहालयको महत्व झन् बढेको छ । 

सङ्ग्रहालयमा लोप हुन लागेका पुर्खाले प्रयोग गरेका ढिकी, जाँतो, पन्चैबाजा, डालो, सुपो, काठका ठेकी, दौरासुरुवाल, घलेक, कुटो, कोदालो, खुर्पा, स्याखु, हँसिया, कछिया, झ्याली, ढ्याङ्ग्रो, घण्टी, शङ्खलगायतका मौलिक सामग्री राखिएको छ । रीतिरिवाज, धर्म र रहनसहनसँग जोडिएका यी वस्तु आकर्षणको केन्द्र बनेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । पुर्खाले प्रयोग गर्ने सामग्री राखिएको सङ्ग्रहालय हेर्न विभिन्न ठाउँबाट पर्यटक आउने गरेको गुरुङको भनाइ छ । 

भौगोलिक हिसाबले दुर्गम मानिने खिलुङ होमस्टेसमेत रहेको यो गाउँमा पर्यटक भित्र्याउन सङ्ग्रहालयले महìवपूर्ण भूमिकासमेत खेलेको छ । सीमित स्रोतसाधनका बाबजुध पनि यहाँ उलेख्य आन्तरिक पर्यटक आउने गरेका छन् भने सङ्ग्रहालय निर्माणले बाह्य पर्यटककसमेत भित्रिने आशा स्थानीयको छ । यहाँ पछिल्लो क्रममा फिल्म, म्युजिक भिडियो सुटिङ गर्ने र वनभोजका लागि समूह आउने गरेका छन् । कचौराभरि मह खुवाएर स्वागत गरिने खिलुङ होमस्टे आफैँमा महत्वपूर्ण छ भने यस ठाउँबाट प्याराग्लाइडिङसमेत गरिन्छ ।