• ८ मंसिर २०८१, शनिबार

सिँगटी–लामाबगर अवरुद्ध सडक खुला

blog

दोलखा समाचारदाता

दोलखा, कात्तिक २१ गते । दोलखाको सिँगटी–लामाबगर अवरुद्ध सडक एक महिनाभन्दा बढी समयपछि खुलेको छ । बिगु गाउँपालिका–१ को काभ्रेभिर सोल्टीमोडमा गत असोज १२ र १३ को अविरल वर्षासँगै गएको पहिरोले अवरुद्ध सडक माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रले मर्मत गरेपछि नियमित भएको केन्द्रका प्रमुख प्रबन्धक पूर्णगोपाल रञ्जितले जानकारी दिनुभयो । 

ढिलै भए पनि वडा नम्बर १ को विशेष पहल र तामाकोशीको जलविद्युत् केन्द्रको लगानीमा भएको द्रुत गतिको मर्मतपछि सडक खुलेको वडाध्यक्ष मेम्बा तामाङले बताउनुभयो । “सडक अवरुद्ध हुँदा पर्यटक र स्थानीयवासीले साह्रै दुःख पाए,” वडाध्यक्ष तामाङले भन्नुभयो, “पहिरोले करिब ५० मिटर सडक नामोनिसान नराखी बगाएको थियो । सडक सफा गर्दा ठुलठुला ढुङ्गा आएपछि विस्फोटक पदार्थले फुटाइएको हो । ढुङ्गाले गर्दा यति समय लागेको हो । सडक अवरुद्ध हुँदा विद्युत् केन्द्रको मर्मत पनि ढिला हुन पुगेको छ । अब यातायात खुलेको छ । सबै कुरा सहज हुँदै गएको छ ।” 

प्रबन्धक रञ्जितका अनुसार यो सडक मर्मतका लागि टेन्डर गरिरहँदा लामो समय लाग्ने भएकाले बाँधस्थलमा काम गरिरहेको एसएसिई हाई हिमालयन इन्जिनियरिङ जेभीलाई काममा लगाइएको हो । काम सम्पन्न भएको छ । कामको मूल्याङ्कनका आधारमा भुक्तानी दिने सहमति भएको छ । सडक खुलेपछि केन्द्रको मर्मत पनि तीव्र गतिमा हुने देखिएको छ ।