• ७ मंसिर २०८१, शुक्रबार

छठ घाट निर्माण सुरु

blog

सुनसरीको हरिनगर गाउँपालिकाको जेसिबीको सहयोगमा छठघाट निर्माण गर्दै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, कात्तिक २० गते ।
सुनसरीमा छठपूजाका लागि विभिन्न नदीखोला तथा जलाशयहरुमा छठ घाट निर्माण कार्य सुरु भएको छ । जिल्लाको सीमावर्ती स्थानीय तहहरुमा नदी, खोला, पोखरी तथा जलाशय अभाव रहेको ठाउँमा कृत्रिम पोखरी बनाएर पूजापाठको तयारी गरेको छ ।

शङ्करपुर शाखा नहर घाट र मरिया खोलामा घाट निर्माणका लागि हरिनगर गाउँपालिकाले जेसिबी निःशुल्क रुपमा व्यवस्था गरेको हरिनगर ४ का किशाेरी पालले जानकारी दिनुभयो । गाउँपालिकाको जेसिबीको सहयोगमा घाट निर्माण गर्ने कार्य सुरु गरेको अर्का स्थानीय विधानन्द साहले बताउनुभयो ।

जिल्लामा छठपूजाका लागि छठ घाट निर्माण कार्य सुरु भएपछि छठको रौनक बढेको छ । देशकै सबैभन्दा ठूलो नदी सप्तकोशी नदीसहित यहाँका स्थानीय पोखरी, सुनसरी खोला, गडन खोला, बुढी खोला, सुनसरी मोरङ सिँचाइ योजना नहर तथ शाखा नहरलगायत जलाशय किनारमा बाँस गाडेर छठ घाट बनाउने काम सुरु गरिएको हो । यो वर्ष छठ पर्व कात्तिक २२ गते मनाइँदै छ ।

जिल्लामा छठ घाट निर्माणका लागि कतै स्थानीय बासिन्दा आफैँ त कतै वडा तथा नगरपालिकाको कार्यालयले रकम दिएर छठ घाट निर्माणको काम अगाडि बढाएको छ ।

उता जिल्ला सदरमुकाम इनरुवासहित दुहवी, रामधुनी, वराहक्षेत्र, इटहरी, कोशी, लौकही, भोक्राहा नरसिंह, हरिनगर, देवानगञ्ज, बर्जु, गढीसहितका स्थानीय बजारमा छठमा प्रयोग हुने प्रसाद सामग्रीको किनमेल बढेको छ ।