• ९ मंसिर २०८१, आइतबार

लोपोन्मुख खरमजुरको वासस्थान फैलँदै

blog

बाबुराम कार्की

वराहक्षेत्र, कात्तिक २० गते । सप्तकोशी नदीमा आएको बाढीसँगै लोपोन्मुख अवस्थामा पुगेका खरमजुरको वासस्थान फराकिलो भएको छ । बाढीले अन्य जीवजन्तु र पन्छीलाई प्रतिकूल प्रभाव पारे पनि नदी उकास क्षेत्रको टापुका घाँसे मैदानमा आश्रित खरमजुरको वासस्थान भने फैलिएको हो । बाढीसँगै नदीमा बगेर आउने लेदो, ग्रेगरबाट बालुवाको टापु बनेपछि खर मजुरको वासस्थान फराकिलो भएको हो । 

खर मजुरको वासस्थान नदीको बाढीसँगै फराकिलो भएको वरिष्ठ चराविद् डा. हेमसागर बराल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “खरमजुरको जीवन चक्र नै घाँसे मैदान हो । बाढीसँगै बगेर आउने बालुवा, लेदोले नदीमा टापु बनाउने हुँदा खर मजुरको वासस्थान फराकिलो भएको हो । यस्तो क्षेत्रमा घाँस, खर राम्रोसँग फस्टाएर आउने हुँदा वासस्थान पनि सुरक्षित भएको छ ।” उहाँका अनुसार प्राकृतिक रूपमा आउने बाढीले खर मजुरको वासस्थानमा दीर्घकालीन फाइदा हुन्छ । 

सुक्खा घाँसे मैदानमा बस्ने खरमजुर विश्व भुगोलबाटै लोप हुँदै जान थालेपछि संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम गरिँदै आएको छ । खरमजुर विश्वमै सात सयदेखि एक हजारको सङ्ख्यामा रहेको अनुमान गरिएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षको घाँसे मैदानमा ३२ वटाको सङ्ख्यामा रेकर्ड गरिएको खर मजुरको वासस्थान बाढीले डुबानमा पर्दा पनि खासै असर नगरेको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीले बताउनुभयो । उनीहरू टप्पुकै घाँसे मैदानमा हुर्कने हुँदा बाढीको कुनै असर नपर्ने बरु बाढीका कारण वासस्थान बढ्ने उहाँको भनाइ छ । 

लोपोन्मुख खरमजुर नेपालमा एक सय वटा मात्रै रहेको चराविद् डा. हेमसागर बराल बताउनुहुन्छ । जलवायु परिवर्तनका कारण पछिल्लो समय तापक्रम बढ्नुका साथै उनीहरूको रहनसहन र वासस्थानमा वातावणीय प्रभाव पर्दा चराहरू सङ्कटमा परेको थियो । नदीको बाढीसँगै बन्ने नयाँ टापुले उनीहरूको जिवन चक्रमा थप सहयोग पुग्ने बताइन्छ । 

बाघभन्दा पनि सङ्कटापन्न अवस्थामा पुगेको यो चरा विश्वमै भरत, कम्बोडिया र नेपालमा मात्रै पाउने गरको चराविद् डा. बरालले जानकारी दिनुभयो । उहाँका अनुसार घाँसे मैदान घट्दै जानु र प्राकृतिक रूपमै भालेको सङ्ख्या बढी र पोथीको सङ्ख्या कम हँुदै जाँदा लोपोन्मुख खर मजुरको सङ्ख्यामा कमी आएको छ ।