• ७ मंसिर २०८१, शुक्रबार

काम विहीन बन्यो प्रहरीको विधि विज्ञान एकाइ

blog

कमल खत्री

धम्बोझी, कात्तिक २० गते । अनुसन्धानका लागि महत्त्वपूर्ण मानिने नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान एकाइ (प्रयोगशाला) नेपालगन्जमा जनशक्तिको अभाव देखिएको छ । सुरुवाती चरणदेखि प्रयोगशालाले दैनिक काम गर्नका लागि महत्त्वपूर्ण मानिने जनशक्ति, उपकरणजस्ता कुरामा समस्याको सामना गर्दै आइरहेको छ । जसले गर्दा कामलाई समेत प्रभावित गर्ने गरेको छ ।

स्थापनाको सुरुवाती चरणबाटै प्रयोगशालामा जनशक्ति र प्रविधिको अभाव थियो । तर त्यो हाल सम्म पनि पूर्ति हुन सकेको छैन । 

प्रयोगशाला स्थापना भएयता यहाँ दुई हजार दुई सय ६७ घटनाका छ हजार सात सय ८२ नमुना परीक्षण गरिएको छ । परीक्षणमध्ये आर्थिक वर्ष २०७८–७९ मा पाँच सय दुई घटनाका एक हजार पाँच सय ५२ नमुना, आर्थिक वर्ष ०७९–०८० मा सात सय ९९ घटनाका दुई हजार चार सय ४० नमुना, आर्थिक वर्ष ०८०–०८१ मा सात सय ४७ घटनाका दुई हजार एक ८६ नमुना र आर्थिक वर्ष ०८१–०८२ मा दुई सय १९ घटनाका छ सय चार नमुना परीक्षण भएको नेपाल प्रहरी प्रदेश कार्यालय, विधि विज्ञान एकाइ, नेपालगन्जले जनाएको छ ।

२०७८ साल मङ्सिरदेखि  प्रयोगशालामा फौजदारी अपराधसँग सम्बन्धित शङ्कास्पद खाना, पेय पदार्थ, बान्ता, र्याल, ‘स्टोम्याच वास’ आदीबाट विषादी परीक्षण र रगतबाट मादक पदार्थ तथा लागूपदार्थको परीक्षण हुने गरेको नेपाल प्रहरी प्रदेश कार्यालय विधि विज्ञान एकाइ, नेपालगन्जका प्रमुख यमलाल बस्नेतले जानकारी दिनुभयो ।

उहाँले त्यसबाहेक भिसेरा नमुनाबाट विषादी तथा अन्य रासायनिक परीक्षण, जैविक नमुनाको परीक्षण समेत हुने उल्लेख गर्दै अन्य अप्राकृतिक मृत्युसँग सम्बन्धित सम्पूर्ण भौतिक सबुद परीक्षण हुने बताउनुभयो । 

जटिल घटनामा अदालतमा द्विविधा रहँदा अदालतलाई बकपत्रमार्फत स्पष्ट गरिने उल्लेख गर्दै लुम्बिनीबाहेक कर्णाली र सुदूरपश्चिमका घटना पनि परीक्षण गर्नुपर्ने भएकाले कामको चाप बढेको उहाँले बताउनु भयो ।  तर जनशक्ति पर्याप्त नहुँदा कामहरू प्रभावित हुने गरेको बस्नेतले बताउनु भयो । 

प्रदेशअनुसार लुम्बिनीमा एक हजार एक सय १२ घटनाका तीन हजार ८८ नमुना, कर्णालीमा चार८७ घटनाका एक हजार तीन सय ५० नमुना र सुदूरपश्चिममा छ सय ६८ घटनाका दुई हजार तीन सय ४४ सहित कूल छ हजार सात सय ८२ नमुनाको परीक्षण सम्पन्न भएको छ ।