• ८ पुस २०८१, सोमबार

स्वदेशी सयपत्रीले धान्यो तिहार, चालिस करोडको फूलमालाको कारोबार

blog

काठमाडौँ, कात्तिक २० गते । यसपालि तिहारमा ४० करोड रुपियाँ बराबरको स्वदेशी माला बिक्री भएका छन् । प्रत्येक वर्ष तिहारमा आयातित मालाले बजार धान्ने गरेकामा यसपालि भने स्वदेशी फूल र मालाले बजार माग पूरा गरेको हो ।

प्रत्येक वर्ष सयपत्री माला आयात हुने गरेकोमा यसपालि स्वदेशी उत्पादनले नै धानेको हो । तिहारमा ३५ लाख सयपत्री, पाँच लाख मखमली र गोदावरीको माला खपत भएको फ्लोरिकल्चर एसोसिएसन (फ्यान)ले जनाएको छ । फ्यानकानिवर्तमान अध्यक्ष मीनबहादुर तामाङले स्वदेशी फूलले बजार माग पूरा गरेको बताउनुभयो । यस वर्ष भारतबाट माला आउन नपाउँदा स्वदेशी उत्पादन मात्र बजारमा भित्रियो उहाँले भन्नुभयो,“यसले गर्दा किसानले उचित मूल्य पाउनुका साथै आगामी वर्ष उत्पादन बढाउन थप प्रोत्साहन भएको छ ।”

भारतबाट माला आयात नहुँदा बजारमा केही अभाव भईमालाको मूल्य २० देखि २५ प्रतिशत बढ्न गएको उहाँले जानकारी दिनुभयो ।गत वर्षको तिहारमा ठुलो परिमाणमा भारतीय सयपत्री माला आयात हुँदा स्वदेशी उत्पादनले मूल्य नपाई किसानले खेर फाल्नुपरेको थियो । गैरकानुनी ढङ्गबाट भित्रिएका माला नष्ट गरिएकाले पनि बजारमा बिक्री हुन नपाएको र त्यसले गर्दा पनि स्वदेशी उत्पादनले राम्रो मूल्य पाएको उहाँले जानकारी दिनुभयो । 

काभ्रेबाट काठमाडौँ मलमा माला बेच्न आएका किसान रमेश तिमिल्सेना एक्लैले तिहारकोदुई दिनमा एक लाख रुपियाँ बराबरको सयपत्री र मखमली माला बेचेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाले माला बेच्ने ठाउँ तोकिएिकाले धेरै सहज भएको उहाँको भनाइ छ । सयपत्रीको प्रतिमाला एक सयदेखि १४० रुपियाँमा र मखमली माला ३५ देखि ५० रुपियाँमा बेचेको उहाँले जानकारी दिनुभयो । 

तिहारमा उपत्यकासँगै आसपासका जिल्ला काभ्रे, धादिङ, नुवाकोट,रामेछाप,सिन्धुलीलगायतका जिल्लाबाट फूल भित्रिएको थियो । फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार नेपालका ५२ जिल्लामा २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ । एसोसिएसनका अनुसार पछिल्लो समय आत्मनिर्भर बन्दै पुष्प व्यवसायमा आठ अर्ब रुपियाँभन्दा बढी लगानी र ५० हजार जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।