• २७ पुस २०८१, शनिबार

नेपाली विद्यार्थी छपन्न मुलुकमा

तीन महिनामा साढे सत्ताइस हजार एनओसी जारी

blog

फाइल तस्बिर

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २० गते । चालु आर्थिक वर्षको असोज मसान्तसम्म अध्ययनका लागि नेपाली विद्यार्थी ५६ वटा मुलुक पुगेका छन् । ती सबै मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीले तीन महिनाको अवधिमा २७ हजार ७२७ वटा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका हुन् । 

एकै व्यक्तिले फरक फरक विश्वविद्यालय तथा क्याम्पसमा अध्ययनका लागि आवेदन दिनु प¥यो भने फरक फरक एनओसी लिनुपर्ने हुन्छ । तसर्थ यो मन्त्रालयबाट जारी गरिएको एनओसीको सङ्ख्या भए पनि एनओसी लिने विद्यार्थी सङ्ख्या भने होइन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार यस अवधिमा नेपाली विद्यार्थीको सबैभन्दा आकर्षक गन्तव्य जापान बनेको छ । शाखाका अनुसार यस मुलुकमा अध्ययन गर्नका लागि नौ हजार ६३८ वटा अध्ययन अनुमतिपत्र जारी गरिएको छ । विद्यार्थीको दोस्रो रोजाइमा संयुक्त अधिराज्य (बेलायत) रहेको छ । यस मुलुकमा अध्ययन गर्न जानका लागि पाँच हजार ४५३ वटा एनओसी जारी गरिएको छ । 

गत साउनदेखि असोज मसान्तसम्म वैदेशिक अध्ययन अनुमतिपत्र लिएका आधारमा अमेरिका नेपाली विद्यार्थीको तेस्रो आकर्षक गन्तव्य बनेको छ । अमेरिकाका लागि तीन हजार ६४ जनाले समीक्षा अवधिमा अध्ययन अनुमतिपत्र लिएका छन् ।

यस्तै अस्ट्रेलियाका लागि दुई हजार २६२, भारतका लागि एक हजार ४४७, दक्षिण कोरियाका लागि ९९४, क्यानडाका लागि ९११, फ्रान्सका लागि ५१९ जनाले अध्ययन अनुमतिपत्र लिएका छन् ।

स्कटल्यान्ड, रोमानिया, नर्वे, इजिप्ट, मेक्सिकोलगायतका मुलुकमा अध्ययनका लागि एक÷एक वटा एनओसी जारी गरिएको छ । कुल ५६ वटा मुलुकमा ७० वटा विषयको अध्ययनका लागि विद्यार्थीले एनओसी लिएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।