• २७ पुस २०८१, शनिबार

बाँकेमा दस हजार लागूऔषध प्रयोगकर्ता

blog

लागूऔषध ओसारपसार हुँदै आएको नेपालगन्जको जमुनाहा नाका । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक १८ गते । भारतीय सीमासँग जोडिएको बाँकेमा करिब १० हजार लागूऔषध प्रयोगकर्ता रहेको लागूऔषध उपचार तथा पुनःस्थापना केन्द्र महासङ्घले जनाएको छ । 

लागूऔषध उपचार तथा पुनःस्थापना केन्द्र महासङ्घका संयोजक रमेशकाजी महर्जनका अनुसार बाँके जिल्लामा लागूऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकरण कार्य चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो । 

उहाँले जिल्लामा हाल करिब १० हजार लागूऔषध प्रयोगकर्ता रहेको जनाउँदै तीमध्ये एक हजार पाँच सय जति महिला प्रयोगकर्ता रहेको अनुमान गरिएको बताउनुभयो । 

जिल्लामा लागूऔषध न्यूनीकरणका लागि २० वटा पुनःस्थापना केन्द्र स्थापना गरिएका छन् भने तीमध्ये दुई महिला पुनःस्थापना केन्द्र छन् ।

लागूऔषधविरुद्धका अभियन्ता अभिराज क्षेत्रीले पछिल्लोपटक लागूपदार्थ प्रयोगको स्वरुपसमेत परिवर्तन भएकोले अवस्था थप चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो ।

विगतमा धुवाँका रूपमा प्रयोग हुने ब्राउनसुगर अहिले तरल बनाएर सुईको माध्यमबाट प्रयोग हुने गरेको पाइएको उहाँले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लागूऔषध नियन्त्रणका लागि जिल्लामा  विभिन्न अभियान सञ्चालन हुँदै आएको .छ । सो कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रहरी कार्यालयमा लागूऔषधका १७७ मुद्दा दर्ता भएका थिए । लागूऔषधमा संलग्न २६४ लाई पक्राउ गरी ९२५ ग्राम ब्राउनसुगर नियन्त्रणमा लिइएको थियो । 

बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले लागूऔषध नियन्त्रणका लागि सीमापार भारतीय सुरक्षा निकायसँग समन्वय गर्नेदेखि गाउँ–गाउँमा चेतनामूलक कार्यक्रमलाई अघि बढाइएको बताउनुभयो ।